गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् । पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाँणको चेतावनी छ ।
केन्द्रमै पनि कांग्रेसलाई चुनावी तालमेल गर्नुपर्ने आवश्यकता नरहेको भन्दै आलोचना भैरहेका बेला, स्थानीय स्तरमा नेताहरुमा तीव्र असन्तुष्टि देखीएको छ । यस्तोमा उनीहरूले गठबन्धनको निर्णय नमानेर चुनावमा होमिने कतिपय स्थानका कांग्रेस नेताहरुले चेतावनी दिसकेका छन् । गृहमन्त्री खाँणले भने गठबन्धनको निर्णय विरुद्ध जानेलाई चेतावनी दिएका हुन् ।
रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले भने, ‘गठबन्धन विरुद्ध अहिले जो जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ।’
खाँणले वर्तमान सरकार गठबन्धनको जगमै बनेकाले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने बताए । गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए।





























प्रतिक्रिया