नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए ।
मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भने ।
‘मतदानका दिन के के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यसहित नमूना मतदान कार्यक्रम गरिएको हो’, कार्यालय प्रमुख ढकालले जोड दिए ।
‘यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।’ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।
महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, ओमकार आचार्यलगायतले मतदाता शिक्षालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
नमूना मतदानमा सहभागी व्यास नगरपालिका-२ की एलिना कुमालले आफू पहिलोपटक मतदानमा सहभागी हुन लागेकाले यो कार्यक्रमले सहज बनाएको बताए । व्यास नगरपालिका–३ निवासी दुर्गाविलास भट्टराईले मतदाता शिक्षा कार्यक्रम कमजोर रहेकाले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक छ भने ।































प्रतिक्रिया