पोखराले पन्ध्रौं मेयरको रूपमा कसलाई पाउला ? (यस्तो छ इतिहास)

पोखराले पन्ध्रौं मेयरको रूपमा कसलाई पाउला ? (यस्तो छ इतिहास)

केन्द्रबिन्दु
0
Shares

२०१६ सालमा नगर पञ्चायतको रुपमा गठन भएको पोखरा हाल देशकै ठूलो महानगरको रुपमा स्थापित भएको छ। पहिलो मेयर बनेका थिए शिवबहादुर थापा । उनले २०१६ देखि ०१८ सम्म कार्यभार सम्हाले । २०१९ सालमा नगेन्द्रबहादुर रायमाझी मेयर बने । उनले ५ वर्ष काम गरे । त्यसपछि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । चौंथो मेयरको रुपमा काम गरेका रुद्रबहादुर कार्कीको केही महिनाअघि मात्रै निधन भएको छ। उनी २०२८ देखि २०३१ सम्म मेयर बनेका थिए ।

पोखराको पहिलो गुरुयोजना उनकै कार्यकालमा बनेको थियो। कार्कीकै कार्यकालमा बनेको गुरुयोजना अनुसार हाल निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, न्युरोड, पोखरा बसपार्क लगायतको जग्गा अधिग्रहण गरिएको हो। तर अधिकांश योजना कार्यान्वयनमा गएको छैन।

२०३१ देखि ०३२ सम्मको अवधी दिलिपकुमार पालिखे मेयर बनेका थिए भने सबैभन्दा कम अवधीका लागि रमेशबहादुर भट्टराई जम्मा ७ महिना मेयर बनेका थिए । गणेश शेरचन २०३२ देखि २०३८ सम्म, श्रीप्रसाद गुरुङ २०३८ देखि ०३९ सम्मको मेयर भएर काम गरेका थिए ।

२०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन मेयर भए। सूर्यबहादुर केसी २०४१ देखि २०४६ को मेयर बने । उनी पछि नेपाली कांग्रेस प्रवेश गरेर समानुपातिक सांसद भएका थिए । २०४९ सालमा पहिलो पटक स्थानीय निकायको चुनाव भयो । जहाँ राजनीतिक दलहरु प्रतिश्पर्धामा थिए । कांग्रेसका भोला थापा ५ वर्षका लागि पोखराको दशौं मेयर निर्वाचित भए। उनकै कार्यकालमा पोखरा नगरपालिकाबाट उपमहानगरपालिका बनेको थियो ।

२०५४ सालमा एमालेका कृष्णबहादुर थापा निर्वाचित भए । उनको कार्यकाल सकिएपछि देशमा स्थानीय निकायको निर्वाचन भएन । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे। भीमसेन थापा राप्रपाबाट मेयर बने । नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औं मेयर भएर कार्यकाल व्यतित गरिसकेका छन् ।

अहिले पोखराका लागि १५ औं मेयरको चुनाव हुँदैछ । पोखराको पन्ध्रौं मेयरका लागि एमालेका कृष्णबहादुर थापा (जो २०५४ को मेयर निर्वाचित भएका थिए) र पूर्व एमालेका धनराज आचार्य गठबन्धनबाट साझा उम्मेद्वार भएका छन् । उनीहरु दुईमध्ये एक जनाले मेयरमा बाजी मार्नेछन् । यहाँ २३ जना मेयरको प्रतिश्पर्धी छन् ।

Logo