मकवानपुरको भीमफेदी गाउँपालिका–८ का स्थानीयले वडा अध्यक्षको उपनिर्वाचन गर्न भन्दै सोमवार जिल्ला निर्वाचन आयोग कार्यालयमा निवेदन दर्ता गराएका छन् । वडाध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि रिक्त वडा अध्यक्षमा उपनिर्वाचन गराउन निवेदन दिइएको हो ।
स्थानीयले संयुक्तरुपमा वडा अध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएका हुन् । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीयको कामकारबाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन निवेदन दिएका हुन् ।
गाउँपालिका अध्यक्ष हिदम लामाले उहाँ (घिसिङ) ले राजीनामा नदिएको दाबी गरे । ‘वडा अध्यक्षज्यू पारिवारिक व्यवस्थापनका लागि मात्र जानुभएको हो । करीब १ महिनाभित्र उहाँ स्वदेश फर्किनुहुनेछ,’ उनले भने, ‘घिसिङले कार्यको जिम्मेवारी दिएर जानुभएकाले जनताका काम रोकिएका छैनन्,’ गाउँपालिका अध्यक्ष लामाको दाबी छ । उनको दाबीलाई स्थानीय मान्न तयार छैनन् । भन्छन्, ‘यसरी कानूनविपरीत पद रिक्त राख्न मिल्दैन ।’
स्थानीयले दिएको निवेदनमा भनिएको छ, ‘निर्वाचन ऐनअनुसार बढीमा ३ महिनासम्म कार्यवाहक दिन पाइने व्यवस्था रहेको बुझिएकाले ४ महिना नाघिसक्दा पनि आफूखुशी परिवारसहित उतै काम गरी बसेकोले छानबिन गरी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचनमा पदपूर्ति गराउन आग्रह गर्दछौं ।’ उपनिर्वाचनको सूचीमा मकवानपुर छैन ।
तत्कालीन नेकपा एमालेबाट उठेका घिसिङले ५ सय १४ मत ल्याएर जितेका थियो । उनका प्रतिस्पर्धी राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत ल्याएको बताइएको छ ।
जनप्रतिनिधि केही समयका लागि भ्रमणमा जान मिलेपनि लामो समयसम्म जनताको कामकारबाहीमा असर पर्ने गरी विदेशमा काम गरेर बस्न नमिल्ने कानून व्यवसायीले बताएका छन् । ५ वर्षसम्म जनताको काम गर्न चुनिएका जनप्रतिनिधि डीभी परेर परिवारसहित विदेशमा रही काम गरिरहेको अवस्थामा उपनिर्वाचन गराउन निर्वाचन कार्यालय लाग्नुपर्ने निवेदक स्थानीयको दाबी छ । नेपाल समाचारपत्र































प्रतिक्रिया