बलात्कारपछि हत्या: ४ वर्षमा कति बालिका बलात्कृत, कति मारिए ? (प्रदेश अनुसार सूचिसहित)

बलात्कारपछि हत्या: ४ वर्षमा कति बालिका बलात्कृत, कति मारिए ? (प्रदेश अनुसार सूचिसहित)

केन्द्रबिन्दु
0
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो ।

गाउँपालिका भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी गत बुधबार विद्यालयबाट नफर्किएपछि खोजतलास गर्दा बिहीबार साँझ घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

कंचनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पनि अझै पत्ता लगाउन सकिएको छैन । २०७५ साउन १० गतेको यो घटनालाई लिएर सडकदेखि सदनसम्म बहस र विरोध हुँदा पनि यथार्थ सार्वजनिक हुन सकेको छैन। निर्मलाको हत्या कस्ले गर्‍यो ? अझै रहस्यमय छ। प्रहरी अझै अनुसन्धानमै छ।

२०७४ माघ २२ मा रुपन्देहीस्थित कोटहिमाईमा १२ वर्षीया सरस्वती हरिजनको पनि बलात्कारपछि हत्या भएको थियो। घाँस काट्न गएकी ती बालिकालाई संदिप कुमार धोवी नाम गरेका व्यक्तिले बलात्कार गरी हत्या गरेको रहस्य खुलेको थियो। रुपन्देही प्रहरीले धोवी विरुद्ध जवर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएपछि उनी अहिले कारागारमा जेल जीवन बिताइरहेका छन्।

बालबालिका विरुद्ध हुने मानवताविरोधी अपराधका यी तीन घटना प्रतिनिधिमूलक मात्रै हुन्। नेपाल प्रहरीसँग भएका सम्पूर्ण स्रोतसाधन लगाउँदा पनि निर्मलाको हत्या रहस्यको गुदी अहिलेसम्म बाहिर आउन सकेको छैन। निर्मलाको बलात्कारपछि हत्या भएको घटनापछि अहिले फेरी भागरथीको बलात्कारपछि हत्या गरिएको छ। अभियुक्तले प्रमाण नछोडेकाले फेरि पनि यो घटनाको अनुसन्धानमा निर्मला प्रकरण जोडिने संशय छ।

आपराधिक मानसिकताको उपजका रुपमा बढ्दै गएको बलात्कारका घटनाले व्यक्तिको मानव अधिकारको रक्षा हुन सकेको छैन।

कहिले कति बलात्कार ?

आर्थिक वर्ष २०७०/०७१ मा मुलुकभर नौ सय पाँच वटा बलात्कारका घटना भएका थिए। २०७६/०७७ सम्म आईपुग्दा दुई गुणा बढेर दुई हजार एक सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

२०७४ देखि ०७७ सम्म आइपुग्दा सात हजार एक सय ७० वटा बलात्कारका घटना भएको प्रहरी मुख्यालयले जनाएको छ। बलात्कार गरि १७ जना महिला तथा बालबालिकाको हत्या भएको देखिन्छ।

प्रदेश अनुसार विश्लेषण गर्दा प्रदेश १ मै बढी घटना भएको देखिन्छ। उक्त प्रदेशमा २०७४/०७५ मा तीन सय ४८ वटा बलात्कारका घटना भएका थिए। यही प्रदेशमा २०७५/०७६ मा पाँच सय ४८,  २०७६/०७७ मा चार सय ८५ र २०७७/०७८ को पुससम्ममा तीन सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रदेश तहमा हेर्दा सुदुरपश्चिम प्रदेशमै बलात्कारका घटना बढेको देखिन्छ। संख्यात्मक रुपमा प्रदेश एकमा धेरै देखिए पनि बढोत्तरी सुदुरमा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार २०७४/०७५ मा सुदुरपश्चिम प्रदेशमा ९३ वटा बलात्कारका घटना भएका थिए। २०७५/०७६ मा आईपुग्दा एक सय ७१, २०७६/०७७ मा दुई सय एक र २०७७/०७८ को पुससम्ममा एक सय २३ वटा बलात्कारका घटना भएको देखिन्छ।

भागरथीको हत्यारा पत्ता लगाउन सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैं घटनास्थलमा खटिएका छन्। प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले घटनास्थलबाट बरामद भएका मोबाईल, भागरथीका साथी र आफन्त, नजिकै चल्ने सार्वजनिक यातायातका चालक लगायतसँग सोधपुछ गर्ने काम भईरहेको बताए। उनले भने,‘ अहिले नै अभियुक्त यही भन्ने किटान भएको छैन। सबै पक्षसँग बुझ्ने काम भईरहेको छ। अनुसन्धानको घेरा साँघुरो हुँदै गएको छ। हामी गम्भीर ढंगले अनुसन्धानमै छौं।’

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँबरले संख्यात्मक रुपमा तुलना गर्दा बलात्कारका घटनामा कमी आएको बताए। उनले भने,‘ २०७४ देखि ७६ सम्म आइपुग्दा बलात्काकार घटना केही हदसम्म कमी हुँदै आएको देखिन्छ। बेलाबेला हुने क्रुर हत्याका घटनामा प्रहरी संवेदनशील छ। उनले निर्मलाको घटनामा प्रहरी अहिले पनि गम्भीर रुपमा अनुसन्धानमै रहेको दावी गरे।

२०७४/०७५ देखि २०७७/०७८ पुससम्म कुन प्रदेशमा कति बलात्कार ?

प्रदेश १: १७५२

प्रदेश २: ९४७

बागमति: १६८२  

कर्णाली: ४११

गण्डकी: ५५८

लुम्बिनी:१०९२

सुदुरपश्चिम: ५८८

अन्नपूर्णबाट

Skip This
Skip This
Logo