भागरथी हत्याः भीरकट्यामा अड्कियो अनुसन्धान, २ सय जनासँग सोधपुछ

भागरथी हत्याः भीरकट्यामा अड्कियो अनुसन्धान, २ सय जनासँग सोधपुछ

केन्द्रबिन्दु
0
Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन्। उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनले त्यो चाउचाउ बजारबाट झन्डै ३ सय मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन्।

‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन्। त्यतिबेला दुई जना थिए। दुवै भीरकट्याको भीरबाट छुट्टिए’, एक प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’ भीरकट्याबाट घटनास्थल झन्डै दुई किमि दूरीमा छ।

त्यस दिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ। उनको शवनजिकै झन्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो। प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरकट्याको भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ।

‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा पर्‍यो। तर, अभियुक्त भीरकट्यातिर लागेको अनुमान भने गर्न सकिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले अभियुक्तको बास्ना कुकुरले पत्ता लगाउन सकेन।’

घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ। तर, प्रहरीले घटनाको कुनै तथ्य बाहिर ल्याउन सकेको छैन। प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ।

२ सय जनासँग सोधपुछ

प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन। प्रहरीले झन्डै दुई सय जनालाई सोधपुछ गरिसकेको छ। स्थानीयवासी प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गर्छन्। तर, प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ।

‘हामीसँग वडाभरिको हरेक घरको तथ्यांक छ’, डीआईजी सुवेदीले भने, ‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा को–को संलग्न थिए ? को–को फरार थिए ? गाउँभरिमा त्यो दिन चलेका ट्र्याक्टर, मोटरसाइकलसहितका सबैलाई सोधपुछ र अनुसन्धानको दायरामा ल्याइसकेका छौं।’

डीआईजी सुवेदीले शंकास्पदलाई प्रहरीले नजरमा राखेको बताए। ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैँ छन्’, उनले भने, ‘चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन। अनुसन्धानको दायरामा आएका सबै पक्राउसरह नै हुन्।’

गाउँले मौन

भागरथीको हत्यापछि गाउँ छिरेका प्रहरीलाई चडेपानीका स्थानीयले खासै सूचना दिन मानेका छैनन्। ‘स्थानीयले आन्दोलन नगरिदिएर हामीलाई धेरै सहयोग भइरहेको छ। तर, उनीहरू घटनाबारे खासै बोल्न मान्दैनन्’, खोचलेक प्रहरी चौकीमा रहेका डीआईजी सुवेदीले भने।

उनले जनताका तर्फबाट पाउने सूचना नै अनुसन्धानका लागि मुख्य स्रोत भएको बताए। ‘सुरुका बेला त कोही बोल्नै मानेनन्, केही थाहा छ भने थाहा छैन भनेर पन्छिए’, उनले भने, ‘तर अहिले अलि–अलि सूचना आउन थालेको छ।’

भागरथीको शव १० दिनदेखि जिल्ला अस्पतालमा राखिएको छ। जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. वसन्त जोशीले काठको बाकस बनाएर अहिले अस्पतालभरिका डिफ्रिजमा बरफ जमाएर जेनतेन शव राखिएको बताए। ‘जेनतेन डिस्कम्पोज हुनबाट जोगाइएको छ। तर, यसभन्दा बढी दिनसम्म राख्दा शव कुहिन थाल्छ’, डा. जोशीले भने।

आफन्तले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने भनेपछि तनाव थपिएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भागरथीको हत्या अनुसन्धानका लागि चाहिने सबै कुरा संकलन भएर विधि विज्ञान प्रयोगशालामा पठाइसकिएको बताए। ‘यो कुराले परिवारलाई बढी पीडा दिन्छ। परिवारका मान्छेलाई हरेक दिन शवको पीडा थपिरहन्छ’, उनले भने, ‘अनुसन्धान तीव्र गतिमा भइरहेकाले शव बुझ्न आग्रह गरेको छु।’ उनले शव अस्पतालमा राखेर मात्रै होइन, हत्यारा पत्ता लगाउन प्रहरी र प्रशासन आफैँ दबाबमा रहेकाले अनुसन्धानको कुनै कसर बाँकी नराख्ने बताए।अन्नपूर्णबाट

Logo