चीनको ग्रेटवाल झल्को दिने मिनी ग्रेटवाल तनहुँको बन्दीपुरमा निर्माण हुँदै

चीनको ग्रेटवाल झल्को दिने मिनी ग्रेटवाल तनहुँको बन्दीपुरमा निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भईरहेको मिनी ग्रेटवालको लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । 

ग्रेटवालको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरिदिएको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फड्को मार्ने विश्वास पर्यटन व्यवसायीको छ । रकम अभावले काम अघि बढाउन समस्या परिरहेको अवस्थामा सङ्घीय सरकारबाट प्राथमिकतामा परी बजेट निकासी भएपछि बन्दीपुरवासीहरुमा खुसी छाएको छ ।

मन्त्रालयले वजेटको व्यवस्था गरी ग्रेटवाल निर्माणका लागि साझेदारी गर्ने भएपछि बन्दीपुरका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले साझेदारी  (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार ग्रेटवालको लागि चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ। पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले दुई करोड ४५ लाख व्यहोर्नु पर्ने गरी मन्त्रालयले सात करोड रुपैंयाँको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए। रकम विनियोजन भएपछि निर्माणकार्य अघि बढाउन सहज भएको अध्यक्ष थापा बताउँछन् ।

बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो । पालिकासँग रकम थोरै भएकोले रकम माग गरिएको थियो । मणिमुकुन्दसेन पर्खाल (मिनी ग्रेटवाल) नामाकरण गरिएको यो एक हजार एक सय मिटर लामो बनाइनेछ । 

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइनेछ । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माणपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेकोमा अपुग हुने भएकोले मन्त्रालयमा माग भए अनुरुप बजेट प्राप्त भएको उपाध्यक्ष गुरुङ बताउँछिन् ।

पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने र टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले रोजगार पाउने हुँदा दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको अध्यक्ष थापा बताउँछन् । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । गाउँपालिकाका अनुसार पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चलाउने तालिम प्रदान गरिने र पर्खाल वरपर फूलबारी निर्माण गरिनेछ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मिनी ग्रेटवाल निर्माणले बन्दीपुरमा आउने पर्यटकलाई थप आर्कषण हुने भएकोले बन्दीपुरमा पर्यटक थप वृद्धि हुने अपेक्षा गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए। मिनी ग्रेटवाल निमार्ण नौलो काम भएकोले आकर्षक लागेको स्थानीयहरुको भनाइ छ ।गोरखापत्रबाट

Logo