फेरि बढ्यो कोरोना त्रासः निजीक्षेत्र चिन्तित, सीमानाकामा सतर्कता

फेरि बढ्यो कोरोना त्रासः निजीक्षेत्र चिन्तित, सीमानाकामा सतर्कता

केन्द्रबिन्दु
0
Shares

एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ।

छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना भाइरसका बिरामीहरू बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत बढिरहेको र संक्रमण फेरि बढ्न सक्ने आकलन गर्दै कोभिड संक्रमणको जोखिमविरुद्ध लड्न सरकारी संयन्त्रहरूले रणनीति तय गर्न थालेका छन्।

उनीहरूले तय गरेको प्रारम्भिक रणनीतिमा खासगरी भीडभाडका गतिविधि नियन्त्रण गर्ने, जोखिम कम गर्न क्वारेन्टाइन र आइसोलेशनलाई तयारी अवस्थामा राख्ने, सीमानाकामा सतर्कता बढाउनेदेखि परिस्थिति हेरेर बन्दाबन्दी गर्नेसम्मको छ।

गृह मन्त्रालयका अनुसार देशभर भीडभाडका गतिविधि हुन नदिन प्रशासनलाई परिपत्र भइसकेको छ। त्यस्तै क्वारेन्टाइन र आइसोलेशन सेन्टरलाई समेत तयारी अवस्थामा राख्न थालिएको छ।

संक्रमण बढिरहेको बेला फेरि क्वारेन्टाइन र आइसोलेशन आवश्यक पर्न सक्ने आंकलन गर्दै अहिले विवरण संकलनको काम सुरू भइसकेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । ‘७७ वटै जिल्लाका क्वारेन्टाइन र आइसोलेशन सेन्टरको यकिन विवरण संकलन गर्दै तयारी अवस्थामा राखिँदैछ,’ उनले भने।

उनका अनुसार गृह मन्त्रालयले बुधवार आफ्ना संयन्त्रहरूलाई परिपत्र गर्दै सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि निर्देशन दिएको छ। बुढाले कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड, सभा, जुलुस नगर्न आह्वानसमेत गरेका छन्। यस्ता गतिविधि हुन नदिन प्रशासनलाई निर्देशनसमेत दिइएको उनले बताए।

गृह मन्त्रालयले आफ्नो रणनीति तय गरिरहँदा भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि रोजगारीका लागि भारत गएका नेपालीहरू फर्किन थालेका छन्।

भारतबाट स्वदेश फर्किने नेपालीहरू फर्किंदा सीमा नाकाहरूमा भीडभाड देखिन थालिसकेको छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै दैनिक १ हजारको हाराहारीमा नेपाली भित्रिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। ‘यी दुई नाकाबाट विगत १० दिनमा ८ हजारभन्दा बढी भित्रिएको अनुमान छ,’ डीएसपी अमरबहादुर थापाले भने ।

भारतबाट फर्किका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षणको काम कतिपय ठाउँमा सुरू नै नभएको र कतिपयमा ढिला गरी थालिएको सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन्। यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको गति रोक्न बन्दाबन्दी गर्नुपर्ने अवस्था आउनसक्ने संकेत गरेको छ।

निजीक्षेत्र चिन्तित
कोरोनाको दोस्रो लहर फैलन थालेपछि निजीक्षेत्र थप चिन्तामा परेको छ । कोरोना नियन्त्रणका लागि यसअघि सरकारले बन्दाबन्दी गर्दा महीनौंसम्म संकटग्रस्त अवस्था रहेको र फेरि महामारी फैलियो भने लगानी डुब्ने चिन्तामा निजीक्षेत्र रहेको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले कोरोनाले थलिएको अर्थतन्त्रमाथि उठिरहेको समयमा फेरि संकमण फैलँदा चिन्तित बन्न पुगेको बताए। उनका अनुसार कोभिड महामारी फेरि बढ्न गई उद्योग सञ्चालनमा समस्या आउने हो कि भन्ने चिन्ता निजीक्षेत्रमा छ। कोभिडको नयाँ चरणको संक्रमणलाई रोक्न सरकारले बन्दाबन्दी वा निषेधाज्ञा लगाइहाल्न नहुने उनी बताउँछन् ।

‘भ्याक्सिन आइरहेको छ, सबैलाई खोप लगाउने वातावरण तयार हुनुपर्‍यो, बन्दाबन्दी, निषेधाज्ञा अब मुलुकले थेग्न कठिन छ, प्रोटोकल पूरा गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार दृढ भएर लाग्नुपर्छ,’ उनको भनाइ छ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo