वीरगञ्ज नाकाबाट बढ्यो निर्यात, घट्यो आयात

वीरगञ्ज नाकाबाट बढ्यो निर्यात, घट्यो आयात

केन्द्रबिन्दु
0
Shares

चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८ महिनामा मुख्य नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट आयात व्यापार घटेको छ। यो भन्सारबाट आयात ११ अर्ब रुपैयाँले घट्दा निर्यात करीब ३ अर्ब रुपैयाँले बढेको भन्सारको सूचना प्रविधि शाखाको तथ्यांक छ ।

चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा यो नाकाबाट ३ खर्ब ६ अर्ब रुपैयाँ मूल्यबराबरको मालसामान भित्रिएको छ । अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

‘चालू आर्थिक वर्षको ८ महिनामा यो नाकाबाट आयात व्यापार करीब ४ प्रतिशतले बढेको छ । यस अवधिमा निर्यात व्यापारमा तुलनात्मक सुधार देखिएको छ। निकासी व्यापार १० प्रतिशतले बढेको छ,’ सुकमनीले भने ।

अघिल्लो वर्ष यो भन्सार हुँदै २३ अर्ब रुपैयाँ बराबरको मालसामान निकासी भएको थियो । यो वर्ष निर्यातकर्ताहरूले २६ अर्ब रुपैयाँको वस्तु भारत र तेस्रो मुलुकतर्फ निकासी गरेको भन्सारको तथ्यांक छ । वीरगञ्जबाट मुख्य रुपमा भटमास र सूर्यमुखीको तेल, जुस जाम, कपडा, जुत्ता, पिना, धागो, दन्तमञ्जन, गलैंचा, कार्पेटलगायतका वस्तु निकासी भएको छ । आयाततर्फ इन्धन, सवारीसाधन, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख छन्।

चालू आवको ८ महिनामा यो भन्सारले १ खर्ब ४ अर्ब रुपैयाँ राजस्व उठाएको छ। यो रकम लक्ष्यको तुलनामा ७ प्रतिशत न्यून भएको भन्सारको लेखा शाखाले जानकारी दिएको छ।

भन्सारले १ खर्ब १३ अर्ब रुपैयाँको लक्ष्य पाएको थियो। कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दीले शुरूमा महिना आयातनिर्यात प्रभावित भएकाले राजस्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकारीहरू बताउँछन्। पछिल्ला केही महीना व्यापार लयमा फर्किएकाले सुधार आएको दाबी उनीहरूको छ। बितेको फागुनमा यो भन्सारले लक्ष्यको तुलनामा १९ प्रतिशत बढी राजस्व उठाएको छ। अभियान दैनिकबाट

Logo