नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहप्रति आक्रमकरूपमा अगाडि बढेका छन्। उनी पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल खनालसमूहमाथि धमाधम कारबाहीको प्रक्रिया सुरु गरेका छन् ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै भुसाल र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेका हुन्। यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका थिए ।
गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए। नेपाल र रावलले चैत १२ गते र भुसाल र पाण्डेले चैत १७ गते पार्टीलाई स्पष्टीकरण बुझाएका थिए । बिहीबार निलम्बन गरिएको भनी पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षत–विक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित गतिविधि गरेकाले लिम्बन गरेको उल्लेख गरेका छन् ।
पत्रमा स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रस्टरूपमा देखिएको जनाइएको छ ।पत्रमा ओलीले भनेका छन्– ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।’
पहिलो चरणमा वरिष्ठ नेता नेपालसहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गरेका ओलीले उक्त समूहका थप नेताहरुमाथि स्पष्टीकरणमार्फत कारबाही गर्ने गृहकार्य सुरू भएको ओली निकट एक नेताले बताए । उनका अनुसार पार्टी नीतिविपरीत गतिविधि गर्ने नेताहरुमाथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ । ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ ।’नेपाल पक्षले भने ओलीले गरेको कारबाहीबाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ । राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई व्युँताउने अभियान नै चलाएको छ ।नेपाल समाचारपत्रबाट































प्रतिक्रिया