कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बेच्न पाउने

कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बेच्न पाउने

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आफ्नो उत्पादन आफैं विक्री वितरण गर्न पाउने भएका छन्। किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याएर विक्री गर्न नपाउँदा कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी रहेको थियो। बिचौलियाकै कारण किसानले मूल्य पाउन सकेका थिएनन्।

बिचौलियाको आफ्नो इच्छा अनुसार किसानले आफ्नो उत्पादन विक्री वितरण गर्नुपर्ने बाध्यता थियो। बिचौलियाले तोकेको मूल्य अनुसार किसानले आफूले उत्पादन गरेको तरकारी विक्री गर्नुपर्ने बाध्यताले किसान र उपभोक्ताबीचको मूल्यमा धेरै अन्तर हुने गरेको छ। उपभोक्ता र किसानबीचको मूल्यमा धेरै अन्तर पर्ने हुँदा त्यसलाई घटाउन सरकारले कालीमाटी बजारभित्र छुट्टै १२ वटा ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले कालीमाटी थोक बजार क्षेत्रभित्र बजारको अवसर नपाएका उत्पादक कृषक तथा व्यवसायीहरुका लागि निर्धारित समयसीमा निर्धारण गरी आफ्नो कृषि उपज बिक्री वितरण वा लिलाम बिक्री गर्न किसानका लागि १२ वटा स्टल सञ्चालन लिएको बताए। लामो समयदेखि व्यापारीहरुले व्यापार गर्दै आएको खाली स्टलहरुलाई नै किसानको लागि छुट्टै ‘होल्डिङ यार्ड’ सहितको स्टल  सञ्चालन ल्याएको जानकारी श्रेष्ठले दिए।

व्यवसायिक रुपमा खेती गरेर तरकारी उत्पादन गर्ने कृषकलाई ध्यान दिँदै स्टल सञ्चालन ल्याएको श्रेष्ठको भनाइ छ। ‘कालीमाटी बजारभित्र किसानका लागि छुट्टै स्टलको व्यवस्था हुनु पर्ने भन्दै किसानले माग गर्दै आएका थिए । सोही मागलाई सरकारले सम्बोधन गरेको हो।’ श्रेष्ठले भने,‘ कृषकले नै बजारभित्र आफ्नो उत्पादन आफैं विक्री गर्दा बिचौलिया र उपभोक्ताबीचको मूल्यको अन्तर केही घट्न सक्ने विश्वास लिएका छौँ।’  किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले पनि स्टल सञ्चालन ल्याएको उनको भनाइ छ।

फेरि पनि किसानका नाममा बिचौलियाको हाबी नहोस् भन्ने उद्देश्यले स्टलमा विक्री गर्ने समय सीमासमेत निर्धारण गरिएको छ। अब किसानले साँझ ७ बजेदेखि भोलिपल्ट दिनको दिउँसो ४ बजेसम्म आफ्नो सामान विक्री गर्न पाउनेछन् । त्यो भन्दा बढी समय सो स्टलमा बसेर किसानले आफ्नो सामान विक्री गर्न पाउने छैनन् । सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले परीक्षण कालसम्म स्टलमा किसानले निःशुल्क रुपमा सामान विक्री गर्न पाउने छन्। पछि शुल्क तिर्नु पर्नेछ । २ टनसम्म सामान ल्याएर विक्री गर्नेले ४ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ भने सो भन्दा बढी सामान ल्याएर विक्री गर्नका लागि प्रतिकेजी २० पैसाका दरले तिर्नु पर्नेछ।

सूचना अधिकारी श्रेष्ठले कालीमाटी बजारभित्र कृषकका लागि छुट्टै स्टल सञ्चालन ल्याउँदा  किसान खुसी भएको बताए।  हाल कालीमाटीमा ५ सय स्टल छन्, तीमध्ये २७ वटा सहकारी संघसंस्थाका लागि राखिएको छ। ती स्टल १५ वर्षको सम्झौता गरि दिइएको हो । सूचना अधिकारी श्रेष्ठका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । अहिले कालीमाटी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिरहेको छ। आन्तरिक उत्पादन कम हुँदा भारतकै भर पर्नु गरेको छ। श्रेष्ठका अनुसार ७ सय टनमध्ये ४५ प्रतिशत भारतको तरकारी हो ।राजधानीबाट

Skip This
Skip This
Logo