कामदार नफर्किएपछि रसुवामा निर्माणाधिन सुख्खा बन्दरगाहको काम रोकियो

कामदार नफर्किएपछि रसुवामा निर्माणाधिन सुख्खा बन्दरगाहको काम रोकियो

केन्द्रबिन्दु
0
Shares

रसुवा ।

कोभिड–१९ को खोप लगाउन गएका चिनियाँ कामदार नफर्किएपछि रसुवामा तीन महिनादेखि निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम रोकिएको छ। सो सुख्खा बन्दरगाह चीनको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवागढी नाकामा निर्माण भइरहेको छ।

चीन सरकारको आर्थिक सहयोगमा टिमुरेमा निर्माण भइरहेको सुख्खा बन्दरगाहले नेपाल–चीनबीचको व्यापारलाई थप सहज बनाउने अपेक्षा गरिए पनि हाल बन्द रहेको छ। बन्दरगाहका लागि करिव १२ करोड ४० लाख चिनियाँ युआन लाग्नेछ। सीमा नाकाबाट करिब साढे दुई किलोमिटरमा पर्ने बन्दरगाह पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको छ भने ३ सय ५० वटा ठूला ट्रक तथा साना गाडी अट्ने पार्किङस्थल निर्माण हुनेछ। 

चीनले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको भए पनि विनाशकारी भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आाएको छ। संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट पाँच सय र सर्वसाधारणको तीन हेक्टर जग्गा अधिकरण भएको थियो।

प्रशासनिक कार्यकक्ष, क्वारेन्टाइन, बैंक, ल्याब र सुरक्षालगायतका कार्यालय रहनेछन्। ७ सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम घर बन्नेछ। नेपालबाट चीन प्रवेश गर्ने एक मात्र रसुवागढी नाकाको भोटेकोसी किनारामा बन्दरगाह निर्माणको काम अगाडि बढाइएको हो। 

सुख्खा बन्दरगाह निर्माणका लागि सम्झौता–पत्रमा हस्ताक्षर भएपछि निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका तर्फबाट आयोजना प्रबन्धक याङ र नेपाल इन्टरमोडल यातायात विकास समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए। चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङभन्दा पाङसिङमा आधुनिक बन्दरगाह थालेको छ। चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी ४ सय ५० किलोमिटर रहेको छ।नेपाल समाचारपत्रबाट

Logo