अंकगणितमा अल्मलिँदै कांग्रेसः यसकारण सक्रिय छन् देउवाभन्दा पौडेल

अंकगणितमा अल्मलिँदै कांग्रेसः यसकारण सक्रिय छन् देउवाभन्दा पौडेल

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ। कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो। कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ। यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन्। तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन्। उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे।

‘अलोकतान्त्रिक कदम चाल्ने नेतृत्वलाई साथ दिने कि विकल्प खोज्ने भन्ने नेता पौडेलको प्रश्न थियो, उहाँले लोकतन्त्रको रक्षाका लागि पनि एक हुनुपर्नेमा ठाकुरसँग आग्रह गर्नुभयो,’ पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने ।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्तरूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन्। पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ। त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने वातावरण भने बन्नै पर्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत नयाँ सरकार गठनका लागि संसदमा संख्या सुनिश्चितता गर्नु कांग्रेसका लागि पहिलो आवश्यकता रहेको बताउँछन् । ‘नयाँ सरकार गठनका लागि संसदमा संख्या सुनिश्चितता गर्नुपर्छ, संख्या सुनिश्चित भएपछि सरकार गठन गर्न सकिन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेकामा दुई जना निलम्बनमा छन । संसदमा माओवादी केन्द्रका ५३ र जसपाका ३३ सांसद छन् । माओवादीतर्फका केही सांसद भने सरकारमा मन्त्री छन् । नेकपा एमालेका मात्रै संसदमा १ सय २१ सांसद छन् । यस्तै, राप्रपा, जनमोर्चा र नेमकिपाका एक–एक जना सांसद छन् ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले भने नयाँ सरकार बनाउन अग्रसरता लिने निर्णय गरेकोमा कांग्रेसलाई धन्यवाद दिइसकेका छन् ।राजधानीबाट

Skip This
Skip This
Logo