कोरोना बीमाबापत ५ अर्ब ८५ करोड भुक्तानी, ९१ हजार ६७३ जनाकाे दाबी

कोरोना बीमाबापत ५ अर्ब ८५ करोड भुक्तानी, ९१ हजार ६७३ जनाकाे दाबी


कोभिड–१९ बीमालेख (कोरोना बीमा)मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन्।

बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमितरूपमा भइरहेको छ।

आवेदन गरेका मध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन्। प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन्।

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो। त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ वटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ। बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको हो। तर, अहिले नियमितरूपमा भुक्तानी भइरहेको छ,’ उनले भने, ‘दाबी पाउन योग्य सबैले भुक्तानी पाउनेछन्।’

कोरोना बीमासम्बन्धी मापदण्ड अनुसार ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ। कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ। तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन्।

यद्यपि, बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयसँग ३ अर्ब रकम माग गरेको छ। उक्त रकम निकासीको प्रक्रियामा रहेको पौडेलले बताए। सरकारबाट रकम प्राप्त भएपछि दाबी भुक्तानी थप द्रुतगतिमा अगाडि बढ्ने उनको भनाइ छ।

चालू आवको बजेटमै कोरोना बीमाको दायित्व सरकारले बेहोर्ने व्यवस्था छ। त्यसअनुसार साढे ३ अर्ब रुपैयाँ माथिको भुक्तानी सरकारबाट हुने व्यवस्था गरिएको हो। त्यसभन्दा तलको भुक्तानी भने बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीबाट गर्ने व्यवस्था गरिएको थियो।

कोरोना बीमाको दाबी भुक्तानीमा साढे १ अर्ब २० निर्जीवन बीमा कम्पनी तथा बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीको १/१ अर्ब दायित्व थियो। त्यसबापतको दाबी भुक्तानी उनीहरूबाट भइसकेको छ। बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरू गरेको थियो। त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन्।अभियान दैनिकबाट

Logo