होटललाई आइसोलेसन बनाउन शिलान्यासमा व्यस्त सरकारले देखाएन रुचि

होटललाई आइसोलेसन बनाउन शिलान्यासमा व्यस्त सरकारले देखाएन रुचि


अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफै गर्न अलपत्र छाडिदिएको छ ।

देशमा उपलब्ध वैकल्पिक संरचनालाई अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्को गरेको छैन । काठमाडौं उपत्यकासहित देशभरका होटलका कोठा अहिले रितै छन् । त्यसलाई उपयोग गरेर सर्वसाधारणलाई सुविस्ता पुर्याउन सकिन्छ, तर शिलान्यासमा व्यस्त सरकारसँग विकल्पबारे सोच्ने फुर्सद छैन ।

गत वर्ष उपत्यकाभित्र र बाहिरका केही जिल्लामा होटललाई क्वारेन्टिन बनाइएको थियो । तर, यस वर्ष सुनामीझै महामारी फैलिँदा पनि त्यसमा छलफलसम्म पनि भएको छैन । होटल संघ नेपाल (हान) मा आबद्ध होटलका काठमाडौंमा मात्रै तारे होटलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् ।

त्यस्तै, देशभर साना ननतारे होटलमा एक लाख ६० हजार कोठा छन् । सरकारले सामान्य मेडिकल टिम राखेर हजारौं बिरामीलाई सहज सेवा दिन सकिने हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । सरकारले यसमा रुचि नै दिएको छैन । सामान्य बिरामीलाई होटलमा राख्न सकिन्छ । त्यसो हुँदा गम्भीर बिरामीलाई अस्पतालका बेडहरु उपलब्ध गराउन सकिन्छ, शाहले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले सिसिएमसीमा सबै क्षेत्रका व्यक्ति भएकाले त्यहीँबाट आवश्यकताअनुसार निर्णय लिने बताए । होटलको संरचना प्रयोग गर्न सकेमा धेरै समस्या समाधान हुन्छ, यो विषयमा छलफल हुन्छ प्रवक्ता अधिकारीले भने । अघिल्लोपटक केही होटलले विदेशबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टिन समेत राखेका थिए, केहीले आइसोलेसनमा समेत राखेका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Logo