निषेधाज्ञासँगै पेट्रोलियम पदार्थकाे बिक्री ४० प्रतिशतले घट्यो

निषेधाज्ञासँगै पेट्रोलियम पदार्थकाे बिक्री ४० प्रतिशतले घट्यो


काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ। काठमाडौँ उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी साधन ठप्प प्रायः भएपछि पेट्रोलियम पदार्थको बिक्री घटेको हो ।

नेपाल आयल निगमका अनुसार वैशाख २० गते २७० किलोलिटर पेट्रोल बिक्री भएको छ। सामान्य अवस्थामा झन्डै ६ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको थियो। त्यस्तै करिब एक हजार किलोलिटर डिजेल बिक्री हुँदै आएकामा निषेधाज्ञापछि दैनिक ५१९ किलोलिटर बिक्री भएको थियो । निषेधाज्ञा हुने जिल्लाहरू बढ्दै गएको र कोरोनाको प्रभाव बढिरहेकाले पेट्रोलियम पदार्थको बिक्री वितरण घट्दै जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

हवाई यातायात पनि सञ्चालन नगरिएपछि हवाई इन्धनको समेत माग घट्ने छ। जिल्लाहरूमा पनि डिजेल पेट्रोलको बिक्री वितरणमा कमी आएको छ तर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको निगमले जनाएको छ। प्रवक्ता उपाध्याय भन्छन्, “भारतमा कोरोनाको प्रभाव निकै छ, नेपालमा पनि बढिरहेको छ तर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ । हामी पूर्ण भण्डारणमा पनि छौँ । ”

कोरोना महामारीको प्रभाव बढ्दै गएकाले निगमले पछिल्लो पटक मूल्य समायोजन गरेको छैन। भारतीय आयल कर्पोरेसनबाट वैशाख १८ गते प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ तर हाललाई मूल्य यथावत् राखिएको र घाटा भइरहेको निगमले जनाएको छ ।गाेरखापत्रबाट

Logo