भक्तपुरमा साढे १७ हजार नागरिकले लगाए भेरोसेलको दोस्रो मात्रा

भक्तपुरमा साढे १७ हजार नागरिकले लगाए भेरोसेलको दोस्रो मात्रा

केन्द्रबिन्दु
0
Shares

भक्तपुरका १७ हजार ५२५ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ नपामा जारी खोप कार्यक्रम अन्तर्गत हालसम्म उक्त संख्याले भेरोसेलको दोस्रो मात्रा लगाएका हुन्।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएकाे जनाए। हाल सोही संख्यालाई दोस्रो मात्राको खोप दिने कार्य यहाँका ४ वटै नपामा भइरहेको छ।

यहाँका ४ नगरपालिकाले १० दिनभित्र भेरोसेलको दोस्रो मात्रा दिइसक्ने गरी तालिका बनाएका छन्। जसअनुसार मध्यपुर थिमि नपाले जेठ २, सूर्यविनायकले जेठ ४, चाँगुनारायणले जेठ ५ गते र भक्तपुर नपाले जेठ ६ गतेदेखि खोप कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

मध्यपुर थिमि र चाँगुनारायण नपाका नौ, नौ वटा वडा र भक्तपुर तथा सूर्यविनायकका १०-१० वटा वडामा खोप केन्द्र निर्धारण गरिएका छन्। जसअनुसार पछिल्लोपटक एकैदिन ४ हजार ३७६ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए।

जसअनुसार सूर्यविनायक नपामा एकहजार ३८३ जना, भक्तपुर नपामा एकहजार २३३ जना, मध्यपुर थिमि नपामा ९७६ जना र चाँगुनारायण नपामा ७८४ जनाले दोस्रो मात्रा लगाएका छन्।

भक्तपुरमा गएको वर्षको चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाउने खोप कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा १८ वर्षमाथिका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। जसमध्ये भक्तपुर नपाले मात्रै २२ हजार ७८२ जना पहिलो मात्रा दिएको थियो।

‘चाँगुनारायण नपाले ८ हजार ५४३ जना र मध्यपुर थिमि नपाले ७ हजार २१३ जनालाई पहिलो मात्रा खोप दिएको थियो’, स्वास्थ्य कार्यालय प्रमुख मिजारले भने, ‘सूर्यविनायक नपाले ५ हजार ७६५ जनालाई खोप लगाएको थियो।’

पहिलो मात्रा दिएको आधारमा भक्तपुरका ४ वटै नपाले सोहीअनुसार दोस्रो मात्रासमेत दिने उनले स्पष्ट पारे। भक्तपुरमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८४१ पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित ४ हजार ६३८ रहेका छन्।अन्नपूर्णबाट

Skip This
Skip This
Logo