परीक्षणकै क्रममा बाँध फुट्यो, ५२.४ मेगावाटकाे लिखु ४ जलविद्युत् आयोजना अनिश्चित

परीक्षणकै क्रममा बाँध फुट्यो, ५२.४ मेगावाटकाे लिखु ४ जलविद्युत् आयोजना अनिश्चित

केन्द्रबिन्दु
0
Shares

परीक्षण प्रसारण गर्ने क्रममा ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजनाको बाँध भत्किएको छ। ओखलढुङ्गा र रामेछापको सीमावर्ती नदीमा निर्माण भएको बाँध शुक्रबार बिहान फुटेको हो ।

सम्पन्न हुने चरणमा रहेको ड्याममा बिहीबार पानी हालेपछि राति नै बाँध फुटेको हो। आयोजनाको ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको थियो। यो आयोजनामा काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन्। जसअन्तर्गत सिभिलतर्फको काम गर्ने जिम्मा भारतीय कम्पनी एसएसएनआरको छ ।

आयोजना सम्पन्न भएपछि खिजिदेम्बा गाउँपालिका–३, बिमिरेमा निर्माण भएको ड्यामबाट भूमिगत सुरुङ हुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने योजनाअनुरूप ड्याममा पानी हालिएको खिजीदेम्बा गाउँपालिका–१ का वडाध्यक्ष सरोज सुनुवारले बताए। सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेगावाटको रहने गरी डिजाइन गरिएको भए पनि प्रवर्धक कम्पनीले उत्पादन क्षमता घटाएर ५२.४ मेगावाटका लागि काम अगाडि बढाएको थियो ।

बाँध फुट्नुमा प्रवर्धक कम्पनी ग्रिन भेन्चर्स र निर्माण कम्पनी एसएसएनआरले गरेको निर्माणमा लापरबाही भएको आरोप स्थानीयवासीले लगाएका छन्। कमजोर संरचना निर्माणका कारण पानी ड्यामले थाम्न नसकेको रगनीका स्थानीय सन्तनारायण श्रेष्ठले बताए ।

पानी हाल्दैमा फुट्ने ड्याम बनेको रहेछ अरू संरचना त कस्तो बनेका होलान् भन्ने शङ्कास्पद भएको श्रेष्ठको भनाइ छ । बाँध फुट्दा आयोजनाको ठूलो क्षति भएको भए पनि क्षतिको यकिन विवरण आउन सकेको छैन । यस विषयमा आयोजना स्थलमा रहेका आयोजनाका जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठलाई धेरै पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

भारतीय कम्पनी एसएसएनआरले बाँधस्थल र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गरिरहेको छ। यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले विद्युत् गृह, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गरिरहेको छ।

१० अर्ब १६ करोड रुपैंयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैङ्क, ग्लोबल आईएमई बैङ्क, नबिल बैङ्क, सनराइज बैङ्क, नेपाल एसबीआई बैङ्क, सानिमा बैङ्क र प्रभु बैङ्कले ७५ प्रतिशत लगानी गर्ने र आयोजनामा २५ प्रतिशत लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको छ। २०७३ असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगस्टभित्रमा समापन गर्ने लक्ष्य राखिएको थियो तर पूरा हुन सकेको थिएन ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo