मौसम बिग्रिँदा सगरमाथा आराेहण प्रभावित, आरोहीहरू दोस्रो शिविरमा ओर्लिए

मौसम बिग्रिँदा सगरमाथा आराेहण प्रभावित, आरोहीहरू दोस्रो शिविरमा ओर्लिए

केन्द्रबिन्दु
0
Shares

सगरमाथा र ल्होत्से हिमाल आरोहणका क्रममा तेस्रो र चौथो क्याम्पमा भएका आरोहीहरु खराब मौसमका कारण दोस्रो क्याम्प ओर्लिएका छन् । तीन दिनसम्म मौसममा खराबी आउने भएपछि चुचुरो पुग्ने लक्ष्य लिएर उक्लिएका दुई दर्जनभन्दा बढी आरोहीहरु दोस्रो क्याम्पमा ओर्लिएर आराम गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

यसअघि दुई पटक आरोहण सम्पन्न भइसकेका छन्। आरोहणका क्रममा बाटोमा भीड लाग्ने भन्दै क्रमिकरुपमा आरोहणमा जानुपर्दा पछिल्लो पटकको आरोहण भने थप कष्टदायी बनेको आरोहीहरुको भनाइ छ। आधारशिविरमा लामो समय बस्नुपरेको र खाद्यान्नलगायत थप सामाग्री र शारिरीक शक्तिसमेत कम्जोर बन्दै गएको आरोही तेम्वा शेर्पाले बताए। अब मौसममा सुधार आउनासाथ जेठ १५ भित्रमा आरोहण सम्पन्न गर्ने उनले बताए। हिमपातसँगै हावा र पानी परेकाले हामी अहिले दोस्रो क्याम्प फर्किएर मौसम सुधारको अपेक्षामा छौं, उनले भने। यस अघि जेठ ९ गते भने एकै दिन १७५ जनाभन्दा बढीले आरोहण गरेका थिए।

यस अघि पनि ताउ–ते चक्रवातका कारण मौसम खराब भएको थियो भने आरोहीहरुमा आधारशिविरमै कोरोना भाइरस सङ्क्रमण फैलिएपछि आरोहण थप प्रभावित बनेको थियो । ३० जनाभन्दा बढी आरोही सङ्क्रमित भएर आरोहण रद्द गरी फर्किएको पर्यटन विभागले जनाएको छ । यता यस वर्ष सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४०८ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहण गर्न अझै ६० जनाभन्दा बढी बाँकी रहेको एजेन्सीहरुले जनाएका छन् ।गाेरखापत्रबाट

Logo