पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको अहंकारवादले पार्टीको एकता असम्भव बन्दै गएको बताएका छन्।
‘वर्तमान राजनीतिक संकट, भावी चुनौती र विद्यार्थीहरुको भूमिका’ विषयक भर्चुअल छलफलमा बोल्दै नेता खनालले ओलिको ६ बुँदे आह्वान राजामहाराजको इतियार (अपील) जस्तो भएको टिप्पणी गरे।
‘ओलीको अहंकार र अस्थिर प्रवृतिले संविधान, गणतन्त्र र पार्टी नै ध्वस्त भएको छ, एकताको आह्वान सामन्ती राजामहाराजको जस्तो इतियार मात्रै हो’, उनले भने।
ओली सामन्तवादको नाइकेजस्तो बन्न थालेको खनालको टिप्पणी छ । उनले थपे, ‘सामान्तवादी शासनमा एउटाले शासन गर्छ, अरुले उसको आदेश चुपचाप सुनेर मान्छ, ओली ठिक त्यही बाटोमा अघि बढे।’
तीन वर्षमा १८ पटक मन्त्रिपरिषद पुनर्गठन भएको, नागरिकता वितरण चकलेट होइन भनेको तीन वर्षपछि आफैंले अध्यादेश ल्याएर राष्ट्रघात गरेको आरोप खनालले ओलीमाथि लगाएका छन्।
एमाले नेपाल–खनाल निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै खनालले अस्थिरता र अराजकताको कारण ओलीको विस्थापनपछि मात्र संकटको समाधान हुने दाबी गरे।
सो कार्यक्रममा कांग्रेस नेता गगन थापाले राष्ट्रिय संकट प्रधानमन्त्री केपी ओली आफैं रहेको तर्क गर्दै उनको विस्थापन संसद पुनस्र्थापनाबाट हुने बताए । थापाले संसद पुनस्र्थापनाको विकल्प नभएको दाबी गरे।
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अहिलेको मूल संकट स्वास्थ्य भए पनि त्यो भन्दा पनि राजनीतिक तथा संवैधानिक संकट गम्भीर रहेको बताए। उनले देशभित्रका र बाहिरका संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी शक्तिहरु एकै ठाउँमा देखिएको बताए।अन्नपूर्णबाट































प्रतिक्रिया