‘प्रतिनिधिसभा पुनर्स्थापना नभए ठूलो संकट आउन सक्छ’: सभामुख सापकोटा

‘प्रतिनिधिसभा पुनर्स्थापना नभए ठूलो संकट आउन सक्छ’: सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन्। सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधिसभा पुनर्स्थापनाका लागि देशव्यापीरूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आएकाे बताए।

सभामुख सापकोटाले मंगलबार संघीय संसद् भवनमा राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग छलफल गर्दै संसद् लोकतन्त्रको आत्म भएकाले यसलाई असमयमा नै विघठन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताए। संविधान माथि एकपछि अर्को बलमिच्याइँ भएको बताउँदै सभामुख सापकोटाले संविधान र संसद्को रक्षाका लागि आफू अन्तिम समयसम्म पनि लडिरहने प्रतिबद्धता जनाए। उनले संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपरहणमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए।

सभामुख सापकोटाले आफ्नो भूमिका स्वतन्त्र, निष्पक्ष र तटस्थ हुने भए पनि लोकतन्त्र र संविधानको रक्षाका खातिर आफू लडिरहने हुँदा कतिपयलाई आफ्नो भूमिका मन नपर्न सक्ने बताए । प्रतिनिधिसभाको पटकपटक अवमूल्यन गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने स्पष्ट पार्दै सभामुख सापकोटाले भने, ‘संसद् लोकतन्त्रको आत्मा हो, संसद् र संविधानको रक्षा गर्न नसक्नेहरूले लोकतन्त्रको पनि रक्षा गर्न सक्दैनन्।’

सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग सहकार्य सहअस्तित्व र समन्वयमा रहेर काम गर्न खोज्दाखोज्दै पनि प्रधानमन्त्री आफैंले त्यस्तो वातावरणको अन्त गरेको स्पष्ट पारे। सभामुख सापकोटाले पहिलोपटक प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पूर्ण फैसला नआउँदै पुनः दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्नु अदालतको अवहेलना र कानुनको ठाडो उल्लंघन भएको दाबी गरे।

उनले २ सय ७५ जना सांसदको एकमुष्ठ अधिकार आफूसँग कायम रहेकाले आवश्यकताअनुसार जुनसुकै समयमा पनि अवशिष्ट र असाधारण अधिकार प्रयोग गर्दै संविधान र कानुनको जगेर्ना गर्न आफू पछि नपर्ने बताए। उनले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन सक्ने अवस्था हुँदाहुँदै विघटन गर्नै नमिल्ने दाबी गरे।राजधानीबाट

Logo