सडकको सकसः जहाँ नाै किलाेमिटर पार गर्न चार घन्टा लाग्छ

सडकको सकसः जहाँ नाै किलाेमिटर पार गर्न चार घन्टा लाग्छ

केन्द्रबिन्दु
0
Shares

पाँचथरको कुम्मायक–२ माङ्जाबुङका ललित शेर्मा हालै दक्षिण कोरियाबाट फर्किए। राँकेबाट बाइक चढेर घुर्बिसे पञ्चमीको सडक हुँदै घरसम्मको यात्रा तय गरे। नौ किलोमिटर सडक पार गर्न झन्डै चार घण्टा लाग्यो। 

‘दर्जनौं ठाउँमा लडें’, सडकको हिलोमा भासिएर अलपत्र परेका शेर्माले भने, ‘हिलोमा बाइक भासिएर कुदाउनै सकिँदैन। जबरजस्ती कुदाए चिप्लिएर लडिन्छ। अब कसरी घर पुग्ने ?’ 

इलामको फाकफोकथुम गाउँपालिकाका सुमित राई हातमा चप्पल बोकेर सडकको हिलोमा भासिएका थिए। राईको घुँडासम्म हिलोले छोपेको थियो। ‘दुई वर्षदेखि बर्खायाममा यो सडकमा गाडी गुड्न कठिन छ’, राईले भने ‘यो क्षेत्रका मान्छेहरू बिरामी पर्दा अस्पताल लानै मुस्किल छ। सडक बनाउने नाममा झन् बिगारेपछि गाडी चलेका छैनन्।’  

यो दृश्य पाँचथर र इलामको सीमावर्ती क्षेत्र राँके–रवि–भेडेटार सडकखण्डको  हो। सडक कालेपत्रे गर्ने नाममा झन् बिगारेपछि यो सडकमा यातायात ठप्प भएको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ र एमाले नेता एवं पूर्वसभामुख सुवास नेम्बाङको क्षेत्रमा पर्ने यो सडकको अवस्था बेहाल छ। प्रदेश नम्बर १ का पूर्वअर्थमन्त्री इन्द्र आङ्बोले पनि यही क्षेत्रबाट निर्वाचन जितेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २० पुस २०७५ मा रवि बजारमा सडक शिलान्यास गर्दा स्थानीयवासी निकै हर्षित थिए। पाँचथरको दोस्रो व्यापारिक केन्द्र रविमा सडक पुगेको ३० वर्षपछि कालोपत्रे हुने निश्चित भएको भन्दै स्थानीयले हर्कबढाइँसमेत गरे। ‘यो सडकमा सरकारको नजर पुग्यो भनेर हामी औधी खुसी थियौं’, रविका महेन्द्र राईले भने, ‘प्रधानमन्त्रीले शिलान्यास गरेको सडकको अवस्था झन बिग्रियो।’

प्रधानमन्त्री ओलीले शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘पूर्वी पहाडबाट विकासको मूल फुटेको’ उद्घोष  गरेका थिए। आगामी दुई वर्षभित्र हिलो सडकमा कसैले हिँड्नु नपर्ने घोषणासमेत ओलीले गरेका थिए। तर, त्यही सडकखण्ड अहिले कालोपत्रेको सट्टा गाडी गुड्न नमिल्ने गरी बिग्रिएको छ।

भारतको लखनउस्थित एप्को इन्फ्रान्ट निर्माण कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी कालोपत्रेको जिम्मा लिएको हो। समय गुज्रिन लाग्दा जम्मा १८ प्रतिशत मात्र काम भएको निर्माण कार्य हेरिरहेका सडक डिभिजन कार्यालय इलामका प्रमुख अभिमान मुल्मीले बताए। ‘पाँचथर र इलाम खण्डमा कामको प्रगति शून्यजस्तै छ’, मुल्मीले भने, ‘धनकुटा क्षेत्रमा केही काम भएजस्तो देखिन्छ।’ निर्माण कम्पनीको लापरवाहीले सडकको अवस्था झन् बिग्रिएको छ।अन्नपूर्णबाट

Logo