निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको दुवै चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ जेठमा प्रतिनिधिसभा विघटन गरेर मिति तोकेपछि त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएकै दिन आयोगले ३१ असारदेखि लागू हुने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका पदाधिकारीको सोमबार बसेको बैठकले २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्तादेखि मत गणनासम्मको तालिका सार्वजनिक गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सार्वजनिक गरिएको कार्यतालिकाअनुसार आयोगले ३१ असारदेखि १५ साउनसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार पारेको छ ।
प्रतिनिधिसभाको पहिलो चरणमा २६ कात्तिकमा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी मनोनयनका लागि २० र २१ असोज गरी दुई दिनको समय तोकेको छ । २१ असोजमा नै उम्मेदवारको सूचीसमेत प्रकाशन हुने आयोगको तालिकामा उल्लेख छ । यस्तै, २२ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ भने २३ र २४ असोजमा मनोनयनपत्र तथा उजुरीउपर कारबाही गर्ने समय तोकिएको छ । साथै आयोगले २४ असोजमा नै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
त्यसपछि २५ असोजमा नै उम्मेदवारलाई नाम फिर्ताका लागि समय दिने र अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्नसमेत प्रदान गर्ने कार्यतालिका रहेको छ । त्यसको एक महिनापछि २६ कात्तिकमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पहिलो चरणको मतदान हुनेछ ।
तालिकाअनुसार दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता ३१ असोजमा हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता भएको र सूची प्रकाशन १ कात्तिकमा हुनेछ । त्यसपछि २ कत्तिकमा उम्मेदवारविरुद्ध उजुरी दिन सकिने र ३ र ४ कात्तिकमा उक्त उजुरी र मनोनयनमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यस्तै, ५ कात्तिकमा उम्मेदवारी फिर्ता लिने र सोही दिन नै अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने बताइएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया