भदौ ५ सम्मका सबै परीक्षा नियमित रूपमा चल्ने

भदौ ५ सम्मका सबै परीक्षा नियमित रूपमा चल्ने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

साउन २८ गतेसम्म परीक्षा सकिने छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा लिइएको हो । विज्ञान र शिक्षा शास्त्र सङ्कायको परीक्षा भने पूरा भएको छ । व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम साउन २२ गते सकिएको छ ।

धेरै विद्यार्थी सहभागी हुने स्नातक तह प्रथम वर्षको परीक्षा सकिएको र अब न्यून विद्यार्थी अध्ययन गर्ने सङ्काय र विषयको परीक्षा कार्यक्रम मात्रै बाँकी रहेको जनाइएको छ । यो अवस्थामा परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षासमेतको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न विश्वविद्यालयलाई अनुमति दिएको जनाइएको छ । गोरखापत्र दैनिकमा समाचार छ । 

Logo