इलामकाे चियामा पनि मापदण्डविपरीत घातक विषादी प्रयोग

इलामकाे चियामा पनि मापदण्डविपरीत घातक विषादी प्रयोग

केन्द्रबिन्दु
0
Shares

संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। 

बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’ 

जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायत भेटिएको थियो। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया (मेसिनले पनि टिप्ने गरिन्छ) फेरि सात दिनमै टिप्न मिल्छ। ‘एल्लो लेबलको भए पनि यसको पर्खने समय कम्तीमा २१ दिन हुन्छ। किसानले यति समय पर्खेर चिया टिप्ने कुरो हुँदैन’, राष्ट्रिय चिया तथा कफी विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारी भन्छन्, ‘यो विषयमा सरकारको सक्रियता कमजोर नै छ।’ अधिकारीका अनुसार पातमा लागेपछि जरासम्मै विषाक्त हुने भएकाले यसको प्रयोग राम्रो मानिँदैन। 

निगमको भण्डारण गृहमा किटनासकबाहेक झार मार्ने राउन्डअपसमेत भेटिएको थियो। जसले क्यान्सर हुन विषकै काम गर्ने जनाइएको छ। 

यस्ता विषादी इलामका अधिकांश किसानले जथाभावी प्रयोग गर्ने गरेको अधिकारी बताउँछन्। अधिकारीका अनुसार कीरा मार्न प्रयोग गर्ने ‘बुलेट’मा क्लोरोपाइरिफस र साइपरमेथिनको मिश्रण पाइन्छ। 

यिनै कारण नेपालको ९० प्रतिशत चिया तेस्रो मुलुकमा जान नसकेको विज्ञ रामचन्द्र नेपाल बताउँछन्। भन्छन्, ‘चिया अग्र्यानिक नबनाएसम्म तेस्रो मुलुकमा बिक्री गर्ने कल्पना पनि गर्न सकिँदैन।’ उनका अनुसार अग्र्यानिक उत्पादन जर्मनी, अमेरिकालगायत मुलुकमा जाने गरेको छ। त्यसको मूल्यसमेत उच्च हुने उनको दाबी छ। 

मुना पलाउने आसमा पनि रासायनिक विषादी प्रयोग हुने गरेको सूर्योदय–९ स्थित सुन्दरपानी चिया उत्पादक सहकारी संस्थाका सहव्यवस्थापक सोनाम योल्मो बताउँछन्। आन्तरिक नियन्त्रण प्रणाली (आईसीएस) अफिसरसमेत रहेका योल्मो भन्छन्, ‘बगानमा पुग्दा अहिले पनि विषको कडा गन्ध आउँछ। त्यसको अर्थ किसानले विषादीको प्रयोग घटाएका छैनन्।’अन्नपूर्णबाट

Logo