गृह मन्त्रालयले हुम्लाको नाम्खामा चीनतर्फ सीमासम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति बनाएको छ । तर, यसअघि यही विषय अध्ययन गर्न बनाइएका दुई समितिको प्रतिवेदन गोप्य राखिएको छ ।
२०७२ मा केपी शर्मा ओलीको सरकारले नाम्खाको सीमा अध्ययन गर्न परराष्ट्रका तत्कालीन सहसचिव झवीन्द्र अर्यालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले नाम्खामा चीनबाट सीमा नमिचिएको रिपोर्ट दिएको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ छ । अर्यालको रिपोर्ट अझै सार्वजनिक भएको छैन ।
पछिल्लो पटक २०७७ असोजमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गृह मन्त्रालयले जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख र नापीका अधिकारी सम्मिलित टोलीलाई नाम्खाको निरीक्षणमा खटाएको थियो । निरीक्षणपछि प्रजिअ गिरीको समितिले तयार पारेको प्रतिवेदन गृहमा बुझायो, गृहले परराष्ट्रमा पठाएको प्रतिवेदन पनि गोप्य छ ।
त्यस्तै, २०७६ मंसिरमा मन्त्रिपरिषद्ले भारत–चीन सीमा जोड्ने नेपालतर्फको भूभाग निरीक्षण गर्न स्थायी संयन्त्र बनाउने निर्णय गरेको थियो । चारवटै सुरक्षा निकायसहित गृह र रक्षा मन्त्रालय तथा नापी विभागका अधिकारी सम्मिलित टोली रहने गरी भारततर्फ परराष्ट्रका दक्षिण एसिया महाशाखा र चीनतर्फ उत्तर एसिया महाशाखा प्रमुखको संयोजकत्वमा सीमा अनुगमन तथा निरीक्षण गर्ने निर्णय भयो ।
त्यसपछि परराष्ट्रका तत्कालीन दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालको टोली भारततर्फ खटियो । चीनतर्फ उत्तर एसिया महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको टोली खटिने भनिए पनि प्रतिकूल मौसमका कारण उत्तरी सीमा क्षेत्रको स्थलगत निरीक्षणमा जान नपाएको ज्ञवाली बताउँछन् ।, कान्तिपुर दैनिकमा समाचार छ ।































प्रतिक्रिया