कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको वडा अधिवेशनको ‘मुहूर्त’ पारेर शुक्रबार बिहानै देश–विदेशमा रहेका सदस्य र शुभचिन्तकलाई भिडियो सन्देशमार्फत सम्बोधन गरे । तर, प्रधानमन्त्री भएको ५७ दिनसम्म उनले कोरोना महामारीलगायतका समस्याबाट गुज्रिरहेका नागरिकलाई भरोसा दिलाउने सम्बोधन गर्ने साइत निकाल्न सकेका छैनन् ।
२९ असारमा प्रधानमन्त्री भएका देउवाले भदौ चौथो सातासम्म पनि पाँच मन्त्रीका भरमा देश चलाइरहेका छन् । तर, यसमा उनले खासै दबाब महसुस गरेका छैनन् । मंसिर ९ देखि १३ सम्म राजधानीमा हुने महाधिवेशनको प्रक्रिया भदौ १८ मै सुरु गरेर पार्टी सभापतिका रूपमा देउवाले अनौठो नजिर पनि बनाएका छन् । फेरि पनि सभापति बन्ने घोषणा गरिसकेका उनको ध्यान अबको तीन महिना सिंहदरबारको शासन–प्रशासनमा भन्दा सानेपाबाट सञ्चालन हुने पार्टी गतिविधि र नेतृत्व चयनमा छ ।
नेपालका हरेक राजनीतिक गतिविधिमा चासो राख्ने दक्षिणी छिमेकी कांग्रेस महाधिवेशनमा पनि सक्रिय छ भन्ने चर्चा पार्टीभित्रै छ । तर, उसको सक्रियता आफ्नो पक्षमा हो भन्नेमा देउवा विश्वस्त छैनन् । त्यसका लागि राष्ट्रियतामा समेत मूल्य चुकाउन उनी तयार देखिन्छन् । आफ्ना नागरिक महाकालीमा खसाइएको पाँच सातासम्म भारतसँग सोधपुछको औपचारिकता पूरा गर्नसमेत उनी हच्किएका छन् । त्यस्तै बिनाअनुमति नेपाली बस्ती र ब्यारेकमाथि निरन्तर हेलिकोप्टर उडाएको भनेर दार्चुला प्रशासन, सैनिक मुख्यालय र गृह मन्त्रालयले आपत्ति जनाउँदा परराष्ट्रमन्त्रीसमेत रहेका देउवाको मौनव्रत तोडिएको छैन ।
दक्षिणको खास नजिक को हो भनेर पार्टीभित्र चलेको प्रतिस्पर्धामा आफूलाई पनि कायम राख्न र सकेसम्म अब्बल बनाउन देउवाले अहिले राष्ट्रियताको संवेदनशील र जरुरी मुद्दालाई पनि ओझेलमा पारेका हुन् भन्ने राजनीतिक विश्लेषण छ । तर सरकार प्रमुखका रूपमा देउवाले लिएको नीतिले नेपाल र भारतको सम्बन्ध झन् जटिल बनाएको टिप्पणी गर्छन् भारतका लागि राजदूत रहिसकेका कांग्रेस नेता दीपकुमार उपाध्याय । ‘यो लघुताभास हो, तुइन प्रकरणमा भारतीय पक्षको संलग्नताको रिपोर्ट सरकारी छानबिन समितिबाट आउँदा र नेपाली सेनाको ब्यारकमाथि बारम्बार भारतले हेलिकोप्टर उडाएको भनेर सरकारी निकायले खबर गर्दा सरकार बेखबरजस्तै बन्नु गम्भीर हो । यसले दुवै देशलाई फाइदा गर्दैन’ उनले भने ।
साउन १५ मा महाकाली तर्ने क्रममा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाको व्यास गाउँपालिका खाङदाङ निवासी ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । छानबिन समितिले एक महिना लगाएर दिएको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोट पठाउन गृहले बिहीबार परराष्ट्रलाई पत्र लेखेको थियो ।
त्यस्तै भारतले लगातार नेपाली आकाशमा अनधिकृत रूपमा हेलिकोप्टर उडाएको विषयमा भारतसँग जवाफ माग्न भन्दै गृहले शुक्रबार परराष्ट्रलाई अर्को पत्र पठाएको थियो । तर, प्रधानमन्त्री देउवाले यी दुवै पत्र परराष्ट्रमै थन्क्याएका छन् । कूटनीतिज्ञहरूका अनुसार तुइन घटना हुनासाथ त्यसको जानकारी दिन र सत्यतथ्य खोज्न सहयोगको अनुरोध गर्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाउन सक्थ्यो, कूटनीतिक नोट थमाउन सक्थ्यो अथवा दिल्लीस्थित आफ्ना राजदूतलाई विदेश मन्त्रालय गएर आफ्नो सरोकार भन्न निर्देशन दिन सक्थ्यो ।
पूर्वराजदूत उपाध्याय भन्छन्, ‘घटनास्थल दुवै देशको सीमा क्षेत्रमा पर्दछ । जयसिंह धामीको शव अहिलेसम्म फेला पर्न सकेको छैन । दुवै देशले संयुक्त टोली बनाएर शवको खोजी गर्नुपथ्र्यो । प्रधानमन्त्रीले कूटनीतिक नोटमार्फत भारतको ध्यानाकर्षण गराउन सक्नुपथ्र्यो । यस्तो घटनामा सरकार चुप लागेर बस्दा समस्या बल्झिएको छ ।’
भारतको सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले भदौ पहिलो साता नेपाल भ्रमणमा आएका बेला नै तुइन प्रकरणमा प्रधानमन्त्रीले नेपालको सरोकार राख्नुपथ्र्यो भन्छन् पूर्वराजदूत उपाध्याय । चौथाइवालेलाई कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले भ्रमणको निम्तो दिएका थिए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महत भने सरकार यथार्थ बुझेर मात्र अघि बढ्न खोजेको बताउँछन् ।
‘यी विषयमा मौखिक कुराकानी भएको जानकारी मलाई छ । औपचारिक रूपमा कूटनीतिक पहल गर्ने काम हुँदैछ,’ प्रधानमन्त्री निकट रहेका महतले भने, ‘पत्रपत्रिकामा आएकै भरमा प्रमाणबेगर प्रतिक्रिया दिने काम कूटनीतिक क्षेत्रमा हुँदैन । परराष्ट्र नीति सञ्चालन गर्दा एउटै मापदण्डका आधारमा सञ्चालन हुनुपर्छ । अहिले सरकार सन्तुलित परराष्ट्र नीतिलाई अघि बढाउन चाहेको छ ।’
उता, भारतसँगको सम्बन्ध सुधार्न देउवाले अर्को छिमकी मुलुक चीनसँगको सीमा विवाद बल्झाउन खोजेको भन्दै कूटनीतिज्ञहरूले आलोचना गरेका छन् ।
प्रधानमन्त्रीले एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन संसद् अधिवेशन आह्वान गराएका छन् । एमसीसी संसद्बाट अनुमोदन गराउन सक्दा अन्तर्राष्ट्रिय विकास साझेदारहरूको नेपालप्रतिको विश्वास कायम रहने देउवाको विश्लेषण छ । तर, यसैका लागि उनले प्रमुख प्रतिपक्षी एमालेको पनि साथ मागेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।































प्रतिक्रिया