काेराेना महामारीका कारण अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र

काेराेना महामारीका कारण अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र


कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ। वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसासमेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन्। 

जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले जान पाउने हुन् भन्ने अझै अनिश्चित छ। चीन, बंगलादेश, अस्ट्रेलियामा पढ्दापढ्दै नेपाल आएका विद्यार्थी अझै फर्कन पाएका छैनन्।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेका यस्ता विद्यार्थीलाई सम्बन्धित मुलुकमा पठाउने व्यवस्था गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ। विदेश जान नपाएर रोकिएका विद्यार्थीको विषयमा शिक्षा मन्त्रालयसँग समितिका सदस्यहरूले छलफल गरेका थिए। छलफलपछि समितिले कूटनीतिक पहल गरी अलपत्र विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। समिति सभापति जयपुरी घर्तीेले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पूरा गर्न विदेश पठाउनुपर्ने बताइन्। ‘कूटनीतिक पहल गरी रोकिएका विद्यार्थीलाई विदेश पठाउनुपर्छ,’ उनले थपिन्, ‘पठाउन नसक्ने भए यहीँ पढ्ने वातावरण मिलाउनुपर्छ, यसरी अलपत्र छाड्न हुँदैन, निकास दिनुपर्छ।’

छात्रवृत्तिमा अध्ययनरत र अध्ययन गर्न जाने विद्यार्थी पनि सम्बन्धित मुलुकको शिक्षण संस्थामा पुग्न सकेका छैनन्। त्यहाँका शिक्षण संस्थामा भर्ना भएर महँगो शुल्कमा अनलाइन कक्षा लिइरहेका भए पनि प्रयोगात्मक कक्षामा सहभागी हुन नपाउँदा उनीहरूको शैक्षिक भविष्य नै जोखिममा परेको छ। बंगलादेश, अस्ट्रेलियालगायत मुलुकमा अध्ययनरत विद्यार्थी पनि त्यहाँ जान नपाएर रोकिएका छन्।

शिक्षा मन्त्रालयका अनुसार कोभिड सुरु भएयता (सन् २०२० देखि) जापान जान १४ हजार र अस्ट्रेलिया जान ९ हजार जनाले अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। यीमध्ये अधिकांश विद्यार्थी रोकिएका हुन्। जापान, अस्ट्रेलिया, कोरियालगायत मुलुकमा अध्ययन गर्न जाने नयाँ विद्यार्थी रोकिएका नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले बताए । यी मुलुकमा पढ्न जाने अनुमति र भिसा पनि पाएका १० हजार विद्यार्थी त्यता जान पाएका छैनन् । संघको जानकारीमा ४ हजार २ सय विद्यार्थी अस्ट्रेलिया र करिब ७ हजार विद्यार्थी जापान जान नपाएर रोकिएको उनले जनाए।

‘यी विद्यार्थीले शिक्षण संस्थामा भर्ना भएर पैसा पठाइसके तर जान पाएका छैनन्,’ पाण्डेले भने, ‘अनलाइन कक्षा भनेर जान रोकिएको छ ।’ अध्ययन गर्न विदेश जाने तयारीमा रहेका विद्यार्थी–अभिभावक तनावमा रहेका राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलको भनाइ छ । अमेरिका, बेलायत, क्यानडालगायत मुलुकमा भने विद्यार्थी आउजाउ गरिरहेका छन् । ‘कोभिडपछि विदेश पढ्न जाने विद्यार्थी र अभिभावकमा छटपटी छ, केही देशमा विद्यार्थी छिर्नै पाएका छैनन्,’ उनले भने । आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने तथा स्वास्थ्य बिमाको व्यवस्था गरिएकाले खर्च बढेको शैक्षिक परामर्शकर्ताहरूले बताए । बेलायत, क्यानडालगायत मुलुकमा क्वारेन्टाइन खर्च मात्रै करिब दुई लाख लाग्छ ।

त्यस्तै, चीनमा मेडिकल शिक्षा अध्ययनरत सयौं नेपाली विद्यार्थीको शैक्षिक भविष्य पनि अन्योलमा छ । महामारीको कारण देखाउँदै चीनले प्रवेश रोक लगाएपछि उनीहरू नेपालमा रोकिएका हुन् । जसले गर्दा उनीहरूले इन्टर्नसिप गर्न पाएका छैनन् । चीन जान नपाएपछि उनीहरूले नेपालमै इन्टर्नसिप गर्न दिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । 

सन् २०१५ र २०१६ मा चीनमा एमबीबीएसलगायत विषय अध्ययन गर्न गएका विद्यार्थी कोभिड महामारीका कारण स्वदेश फर्केका थिए । उनीहरूले प्रयोगात्मक पढाइ मात्रै बाँकी रहेकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै आइतबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरे । सन् २०१५ र २०१६ मा चीन अध्ययन गर्न जान २ हजार विद्यार्थीले अनुमति पाएका शिक्षा मन्त्रालयको तथ्यांक छ । २०१४ का विद्यार्थी इन्टर्नसिप पूरा नगर्दै नेपाल फर्केपछि नेपाल मेडिकल काउन्सिलले १ सय ६५ जनालाई नेपालमा नै प्रयोगात्मक कक्षा गराउने निर्णय गरिसकेको छ। त्यसपछिका व्याचका विद्यार्थीले यही इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका हुन् ।कान्तिपुरबाट

Logo