सीमा नाकामा कडाइले चीनबाट तयारी सामान आयातमा ८५ प्रतिशतले कमी

सीमा नाकामा कडाइले चीनबाट तयारी सामान आयातमा ८५ प्रतिशतले कमी

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामाग्री आयातमा कमी आएको छ। कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म कमी आएको भन्सार विभागले जनाएको छ।

दुई वर्ष अघि दैनिक एकसय वटा कन्टेनर नेपाल प्रवेश गर्ने गरेपनि हाल आठदेखि १० वटासम्म मात्र कन्टेनर नेपाल आउने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। नेपाली व्यापारीहरुलाई प्रवेशमा पूर्णरोक लगाएपछि कुनै दिन सामाग्री आयात शुन्य हुने गरेको उनले बताए। सामाग्री आयातमा कमी आएसँगै राजश्व संकलनमा समेत कमी आएको प्रमुख गौतमले जानकारी दिए।

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाकाबाट मुख्यगरी सामाग्री भित्रिने गरेको छ। अन्य छोटी नाका र स्थानीयस्तरमा सञ्चालित नाकाबाट भने सामान्य घरायसी प्रयोजनका लागि मात्र सामाग्री आयात हुने गरेको छ। तयारी सामाग्री आयातको दर कम हुनुको कारण चीन सरकारले चीन प्रवेशमा गरेको कडाइ, आयातीत सामाग्रीहरु महिनौंसम्म सडकमै रहनु र सुरक्षा नहुनुले व्यापारीहरुले चुनौती खेप्न नचाहनु मुख्य कारण भएको भन्सार विभागका प्रवक्ता पुन्य विक्रम खड्काले बताए। अहिले उत्तरी नाका हुँदै सामाग्री आयात गर्न ढुक्क भएर लगानी गर्न कठिन हुने गरेको छ, त्यसैले आयातमा ठूलो परीमाणमा कमी आएको हो, उनले बताए। चीन तर्फबाट सुरक्षा व्यवस्थामा कडाइ हुँदा तातोपानी जस्तै केरुङ भन्सारको अवस्था पनि उस्तै रहेको खड्काले बताए।

यता नेपाल तर्फबाट प्रशासनले कन्टेनरको संख्या बढाएर पठाए व्यवस्थापन गर्न सक्ने पत्रसमेत चीन प्रशासनलाई पठाइ सकेको तर कन्टेनर पठाउन नचाहेको व्यवसायी निमा लामाको आरोप छ। अधिकांश व्यावसायीले उत्तरी नाकाबाट व्यावसाय गर्न छाडी सकेको समेत उनको भनाइ छ। भारतबाट आउने सामाग्रीहरुमा कम चुनौति हुने गरेको उनी बताउँछन्। कलकत्ता लगायतका क्षेत्रमा सामाग्री आयात गर्दा बाटोमा रोकिएपनि सुरक्षित हुने गर्दा व्यपारीहरु त्यसतर्फको व्यापारमा लागेको भन्सार विभागको भनाइ छ।

हाल नेपालसँग सञ्चालनमा रहेका उत्तरी नाकाहरुमा ओलाङचुङगोला, किमाथांका, लामाबगर, तातोपानी, रसुवा, लार्के, मुस्ताङ, मुगु र यारनाका गरी नौ वटा नाका रहेका छन्।गाेरखापत्रबाट

Skip This
Skip This
Logo