देउवाको व्यस्तताले कांग्रेस महाधिवेशन ओझेलमा, दसैं लगत्तै केन्द्रीय समिति बोलाउनुस्ः पौडेल

देउवाको व्यस्तताले कांग्रेस महाधिवेशन ओझेलमा, दसैं लगत्तै केन्द्रीय समिति बोलाउनुस्ः पौडेल


नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेसको १४औं महाधिवेशन ओझेलमा परेको छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा पर्दै गएको हो।

प्रधानमन्त्री देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन्। कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए। जसका कारण कांग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन सुरु गर्न सकेको छैन। १३ जिल्लामा वडा अधिवेशन नहुँदा महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको विषय अन्योलमा पर्दै गएको बताए। ‘महाधिवेशन त घोषणा भयो तर अझै पनि हुने कि नहुने अन्योल छ, पार्टीको बैठक हुन सकिरहेको छैन, मैले सभापतिलाई दसैंलगत्तै पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाउन भनेको छु, अब यसरी पार्टी चल्दैन,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने।

उनले दसैंलगत्तै सभापति देउवालाई पदाधिकारी बैठक बोलाएर महाधिवेशनबारे स्पष्ट कार्यक्रम बनाउन आफूले आग्रह गरेको जानकारी दिए। त्यसपछि केन्द्रीय समिति बैठक डाकेर पार्टीको महाधिवेशनबारे निर्णय लिन सभापतिलाई भनेको पौडेलले बताए् ।

सभापति देउवाले भने निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत संशोधन गर्ने तयारी गरेका छन्। उनीनिकट एक नेताका अनुसार प्रदेश अधिवेशन मंसिर पहिलो साता गर्नेगरी तयारी भइरहेको छ।राजधानीबाट

Logo