प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

प्रिमियम बढाउन बैंकहरूको अनुचित दबाब

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारी उत्कर्षमा रहेका बेला लगानीका क्षेत्र खुम्चिरहँदा ऋणीप्रति उदार व्यवहार देखाएका बैंकहरू अहिले व्यवसायीलाई कस्ने नियतमा लागेका छन्। कोरोना महामारी मत्थर भएसँगै उद्यम व्यापारले गति लिन थालेको छ। यो बेला बैंकहरूले तरलता अभावलाई कारण देखाएर लिमिटमा भएको रकम समेत दिन नमानेको गुनासो औसत व्यवसायीको छ।

बैंकहरूले ऋणीलाई प्रिमियम दर बढाउन दबाब दिन थालेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ। संघले यसबारेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेरै ध्यानाकर्षण गराए पनि ती निकायले सुनुवाइ नगरेको संघको बैंक तथा वित्तीय समितिका संयोजक आशिष लाठ बताउँछन्।

अहिले बैंकहरूले प्रिमियममा ३ देखि ४ प्रतिशत बिन्दुसम्म बढाउन दबाब दिइरहेको संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन्। ‘तरलता अभावका कारण बैंकको खर्च बढेको भए त्यो आधार दरमा जान्छ। तर, प्रिमियम बढाउन अनुचित दबाब आइरहेको छ,’ गुप्ताले भने।

सम्झौता अवधिमा ऋणीको सहमतिविना प्रिमियम दर बढाउन मिल्दैन। भन्सारबाट मालसामान छुटाउने बेलामा बैंकहरूले प्रिमियम बढाउन सहमत भएमात्रै कागजात अघि बढाउने शर्त राख्ने गरेको संघका सचिवसमेत रहेका लाठले बताए। ऋणको माग कम हुँदा १ प्रतिशतमा दिएको टर्म लोनमा अहिले ४ प्रतिशतसम्म प्रिमियम माग्न थालेका छन्। आर्थिक अभियान दैनिकबाट

Logo