बैंकिङ कसुरका घटना १०५ प्रतिशतले बढ्याेः प्रहरी

बैंकिङ कसुरका घटना १०५ प्रतिशतले बढ्याेः प्रहरी

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको दर्ता बढ्दै गएको देखिएको छ। नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी दर्ता हुने मुद्दाको संख्या बढ्दै गएको देखाएको हो।

प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात् मङ्सिर मसान्तसम्म यस्तो मुद्दाको संख्या १०५ प्रतिशतले बढेको छ। गत आवको पहिलो ५ महिनामा बैंकिङ कसुरमा ८८० मुद्दा प्रहरीमा दर्ता भएका थिए । चालू आवको सोही अवधिमा त्योभन्दा बढी अर्थात् १ हजार ८०८ वटा यस्ता मुद्दा प्रहरीमा दर्ता भएका छन्।

बैंकिङ कसुरसम्बन्धी मुद्दा नेपाल प्रहरीमार्फत अदालती प्रक्रियामा जाने गर्छ। यसमा सरकार आफैं नै वादी (पक्ष) भएर मुद्दा लड्ने गर्छ, जुन पछिल्लो समय ह्वात्तै बढेको प्रहरीको तथ्यांकले देखाएको छ। यस्तो मुद्दा उच्च अदालतमा फैसला हुने गर्छ।

वार्षिक आधारमा गत आव २०७७/७८ मा बैंकिङ कसुरको मुद्दामा केही कमी आएको थियो। आव २०७६/७७ मा ३ हजार ३०९ वटा यस्ता मुद्दा दर्ता हुँदा गत आव २०७७/७८ मा २ हजार ३७३ वटा मुद्दा दर्ता भएको देखिन्छ। तर, चालू आवदेखि बैंकिङ कसुरको मुद्दा पुनः बढ्न थालेको प्रहरीको तथ्यांकले देखाएको छ।

गत आवमा कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण बैंकिङ कसुरसम्बन्धी मुद्दामा केही कमी आएको थियो। तर, अहिले परिस्थिती सामान्य हुँदै गएपछि यस्तो मुद्दाको संख्या झन् बढ्दै गएको देखिएको छ।

चालू आवको पहिलो ५ महिनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, हातहतियार खरखजानाजस्ता मुद्दाको संख्या घटेको छ। यस्तै, लागू औषध, अपहरण, गठी तथा चोरी जस्ता मुद्दाको वृद्धिदर ५० प्रतिशतभन्दा तल छ। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दाको वृद्धिदर शतप्रतिशतभन्दा बढी रहेको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ। संख्याको आधारमा अन्य मुद्दा नै बढी भए पनि वृद्धिदरका आधारमा बैंकिङ कसुरको मुद्दा बढी देखिएको हाे।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो समय बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्या बढ्दै गएको बताए। यसको दायरा बढी हुँदा मुद्दाको संख्या पनि बढेको उनको भनाइ छ। 

उनका अनुसार बैंंकिङ कसुरसम्बन्धी मुद्दामा ठूलाठूला व्यवसायिक संस्था पनि मुछिएका छन्। ‘बैंकिङ कारोबार गर्ने व्यक्ति तथा संस्थाहरू यसमा मुछिएका छन् । साथै, सर्वसाधारण पनि यस्तो मुद्दामा मुछिएका छन्,’ उनले भने ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo