बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा

बैंकमा हुने ठगीका घटनामा मोबाइल बैंकिङ ठगी दोस्रो नम्बरमा


कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालन बढेपछि पछिल्लो समय भारतमा ठगी एवम् धोकाधडीका घटनाहरु बढेका छन्। यसको सामना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सकस भइरहेको डेलोइट इन्डियाले हालै गरेको एक सर्वेक्षणले देखाएको छ। यो प्रवृत्तिले भारतमा  निरन्तरता पाउने पनि डेलोइटले दावी गरको छ। 

आगामी दुई वर्षमा यस्ता घटनाहरुमा वृद्धि हुने  पनि प्रतिवेदनमा भनिएको छ। यस्ता घटनाहरु बढ्नुको मुख्य कारणमा बृहत स्तरका रिमोट वर्किङ मोडल, शाखारहित बैंकिङ च्यानल प्रयोग गर्ने ग्राहकको संख्यामा भएको वृद्धि र सम्भावित जोखिमहरुको पहिचान गर्न फरेन्सिक विश्लेषणहरुको सीमित वा अप्रभावकारी प्रयोग रहेको डेलोइट टची तोह्मासु इन्डिया एलएलपी (डीटीटीएल) ले भनेको छ। 

डेलोइटले सो सर्वेक्षणमा भारतका निजी, सरकारी, विदेशी, सहकारी र क्षेत्रीय ग्रामीण बैंक लगायत विविध वित्तीय संघसंस्थाका ७० जना सीईओ वा समकक्षी कार्यकारी/अनुपालना र जोखिम व्यवस्थापनका लागि जिम्मेवार वरिष्ठ व्यवस्थापन अधिकारी, लेखापरीक्षक-वित्त, सम्पत्ति पुनःबहाली अधिकारी आदिको धारणा समाविष्ट गरेको थियो। 

‘कोरोना भाइरसको महामारी र नयाँ डिजिटल मुद्राको सञ्चालनबीच बैंक तथा वित्तीय संस्थाहरुले बढ्दो ठगीका घटनाहरुको सामना गर्न संघर्ष गर्नु परिरहेको छ,’ डेलोइट इन्डियाले गरेको बैंकिङ ठगी सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। सर्वेक्षणका ७८ प्रतिशत सहभागीहरुले आगामी २ वर्षमा यस्ता ठगी बढ्ने बताएका थिए। 

ठगीको घटना बढाउनुमा खुद्रा बैंकिङले मलजल गरेको पनि सर्वेक्षणमा पाइएको छ। ५३ प्रतिशत उत्तरदाताहरुले विगत २ वर्षमा खुद्रा बैंकिङमा आफूहरुले सय भन्दा धेरै ठगीका घटनाको सामना गरेको बताएका छन्। यो अघिल्लो सर्वेक्षणको तुलनामा २९ प्रतिशत धेरै हो। 

गैरखुद्रा बैंकिङको श्रेणीमा पनि औसत २० ठगीका घटना देखिएको ५६ प्रतिशत सहभागीले बताएका छन्। यो पनि अघिल्लो सर्वेक्षणको तुलनामा २२ प्रतिशत धेरै हो। डेटा चोरी, साइबर अपराध, तेस्रो पक्ष संलग्न ठगी, घुसखोरी र भ्रष्टाचार अनि झुठा कागजपत्रहरु भने ४२ प्रतिशत उत्तरदाताको शीर्ष ५ चिन्ता पाइएको छ। आफूहरु यी धोकाधडी र ठगीमा परेको पनि उनीहरुले बताएका छन्। 

आफ्नो ठगी जोखिम व्यवस्थापन (एफआरएफ) प्रणालीमा कोभिड–१९ को परिणामस्वरुप ठगीविरुद्ध निगरानी र यसको पहिचानका लागि विश्लेषणत्मक साधनमाथिको निर्भरता बढेको २५ प्रतिशतले बताएका छन्। २३ प्रतिशतले भने महामारीका कारण उपभोक्ता र कर्मचारीहरुमाझ ठगीसम्बन्धी सचेतना सृजनाको आवश्यकता बढेको औंल्याएका छन्। 

रिमोट ठगी जोखिम व्यवस्थापन प्रणालीको क्षमता अभिवृद्धि गर्न लक्षित सञ्चालन मोडलमा परिवर्तन गरिएको २१ प्रतिशत सहभागीको भनाइ छ। 

डेलोइट इन्डियामा वित्तीय सल्लाहकार साझेदार केभी कार्थिकले सर्वेक्षणमा फेला परेका तथ्यहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा भने- ‘कोरोना भाइरसको महामारीका कारण विश्वभर बैंक तथा वित्तीय संस्थाहरुले पूर्णतः नयाँ वातावरणमा सञ्चालन गर्नु पर्ने अवस्था आएको छ। 

उनले अगाडि भने, ‘एका तर्फ उपभोक्ताहरुबाट डिजिटल च्यानलको प्रयोग बढेसँगै कारोबार सहज बन्दै गएको छ र यसको गति पनि बढेको छ। अर्को तर्फ चाँहि विकसित हुँदै गइरहेको अनि जटिल व्यवसाय मोडल र प्रविधिको बढ्दो प्रयोगका कारण विद्यमान ठगी जोखिम व्यवस्थापन ढाँचाहरुले नयाँ र थप जटिल खालको चुनौतीहरुको सामना गरिरहेका छन्।’

महामारीमा बैंकहरुलाई छोटो अवधिभित्रै सेवा अवरुद्ध हुने अवस्था आउन नदिन उल्लेख्य संस्थागत र सञ्चालन परिवर्तन लागू गर्न बाध्य बनाएको धारणा डेलाइट इन्डियाका पार्टनर निशिकाम ओझाको छ। 

फ्रन्ट एन्डमा असंख्य परिवर्तन लागू भइरहेको भएपनि प्रक्रिया र प्रणालीहरुलाई सम्भवतः यी परिवर्तनले छोएको नहुन सक्ने भएकोले यसले यस्तो खालको परिवर्तनपछि पनि हुन सक्ने ठगी र धोकाधडीको मूल्यांकनहरु भएका छन् त भन्ने प्रश्न उब्जाएको उनले बताए। 

सर्वेक्षणमा सहभागी आधा उत्तरदाताहरुले मात्रै आफूहरुले ठगीसम्बन्धी जोखिमको मूल्यांकन गरेको र आफ्नो ठगी जोखिम दर्ता वर्षमा एक पटक अपडेट गर्ने गरेको बताएका छन्। 

हाल बैंकहरुले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या कर्जा ठगी, मोबाइल/इन्टरनेट बैंकिङ ठगी, पहिचान/डेटा चोरी र फिशिङसम्बन्धी जोखिम पाइएको छ। यी जोखिमहरु क्रमशः २४ प्रतिशत, १४ प्रतिशत, १३ प्रतिशत र ९ प्रतिशत रहेको सर्वेक्षणमा देखाएको छ।अभियान दैनिकबाट

Logo