किन बढेन नेपालको जनसंख्या ?, ८० वर्षपछि पहिलोपटक घट्याे वृद्धिदर

किन बढेन नेपालको जनसंख्या ?, ८० वर्षपछि पहिलोपटक घट्याे वृद्धिदर

केन्द्रबिन्दु
0
Shares

०६८ सालको जनगणनाको वृद्धिदरलाई आधार मानेर ३ करोड नेपालीको जनसंख्या रहेको भन्दै आए पनि २०७८ सालको जनगणनाले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८३ मात्रै देखाएको छ।

२०६८ सालमा वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेकोमा हाल आएर वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत मात्र रहेको देखाएको छ। २०४८ सालदेखि जनसंख्या वृद्धिदर घट्दै आएर २०७८ सालमा १ प्रतिशतभन्दा कम भएको छ। यही अनुपातमा घट्दै गएको खण्डमा मुलुकमा विकसित मुलुकमा झैं जनसंख्या घट्दै जाने चिन्ता गर्न थालिएको छ। युवा पुरुष विदेशी रहेकाले र महिलामा प्रजनन् क्षमता घट्दै गइरहेकाले भविष्यमा समस्या आउने भन्दै चिन्ता प्रकट गर्न थालिएको हो।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। जुन १० वर्षअघिको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी हो। १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ। राष्ट्रिय तथ्यांक विभागअनुसार कुल जनसंख्यामा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ। यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो। महिलाको संख्या भने १ करोड ४९ लाख १ लाख १ सय ६९ रहेको छ। नेपालमा महिला ५१.०४ प्रतिशत रहेको छ ।

जनगणना घर र परिवार संख्या राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ। ती परिवार जम्मा ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेका देखिएको छ। २०७८ सालको जनगणनाले नेपालमा संयुक्त परिवारबाट एकल परिवार बढ्न थालेको देखाएको छ। हालको परिवार संख्या १० वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको हो। १० वर्षमा १३ लाख ३३ हजार ७ सय ५७ वटा परिवार थप भएकोबाट नेपाली जनता एकल परिवारमा टुक्रिन थालेको देखाएको हो। परिवारको आकार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखिन्छ।

जनसंख्या वृद्धिदर भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको छ।

प्रदेशअनुसारको जनसंख्या, वृद्धिदर र परिवर्तन प्रदेशगतरूपमा जनसंख्याको वितरण सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ हजार २ सय ८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना रहेको छ।

जिल्लाअनुसारको जनसंख्या र वृद्धिदर प्राप्त प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६ सय ४५ जनाको बसोबास रहेको छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्ला हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन् ।

भक्तपुर जिल्लामा सबैभन्दा धेरै वार्षिक वृद्धिदर ३.३२ प्रतिशत रहेको छ भने रामेछाम जिल्लामा १.६५ प्रतिशतले ऋणात्मकरूपमा घटेको छ । ३२ ओटा जिल्लामा जनसंख्या विगतको तुलनामा घट्दै गएको देखिएको छ।

कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ दशमलव पुगेको छ। संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या बढेको हो।

सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी पर्छन् । सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ४५ हजार ७ सय ६७ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ।

धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ३ सय ९८ जना रहेको छ ।

नेपालको जनघनत्व १ सय ९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १ सय ८० जना मात्र थियो । भौगोलिक क्षेत्रअनुसार २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३ सय ९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजाअनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १ सय ८ जना प्रतिवर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ। जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन्। त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग किमिभन्दा कम रहेको छ। अक्सर विदेशमा बसोबास गर्ने जनसंख्या जम्मा २१ लाख ६९ हजार ४ सय ७८ व्यक्ति रहेका छन्। जसमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरुष र ४ लाख ६ हजार १ सय ६३ महिला छन्।

१० वर्षअघि विदेशमा १९ लाख २१ हजार ४ सय ९४ थियो । सबैभन्दा बढी विदेशमा बस्नेहरूको पाँच जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रूपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश बस्ने पाँच जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्। –राजधानी दैनिकबाट

Skip This
Skip This
Logo