सडक नै नभएको ठाँउमा ५ करोडको पक्की पुल

सडक नै नभएको ठाँउमा ५ करोडको पक्की पुल


गोरखा-३ नारेश्वर र सिरानचोक-५ जरेवर जोड्न दरौंदी नदीमाथि पक्की पुल बन्दै छ । 

त्यो पनि सानो तिनो रकमको होइन ५ करोडको । वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ  । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा भने चकित छन् । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका-५ जरेवर र गोरखा नगरपालिका-३ नारेश्वर जोड्ने पक्की पुल बन्दै गरेको हो ।

मानिस आउजाउका लागि भने यो मोटरेबल पुलनजिकै झोलुंगे पुल छ । नारेश्वरतर्फ करिब सय मिटर दूरीमा सडक ल्याइएको छ, तर उक्त सडक प्रयोगमा छैन । कनकि, सडक र पुलको बीचमा जंगल पर्छ । जरेवरतर्फ निर्माणाधीन मोटरेबल पुलको डेढ किलोमिटर दूरीमा बाह्रकिलो बारपाक सडक छ । नारेश्वरतर्फबाट ल्याइएको सडकलाई मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाह्रकिलो बारपाक सडकसँग जोड्ने बताइएको छ ।

पुलबाट जरेवरतर्फ भने सडक छैन, स्थानीयको खेत छ । आवश्यक हो कि होइन भन्ने विषयमा सरसल्लाहसमेत नगरी पुल निर्माण थालिएको हो । आफूखुसी बनाइँदै गरेको पुलसँग जोड्ने सडक निर्माणका लागि खेत मास्न नदिने स्थानीय बताउँछन् । जरेवरका सीताराम सुनारले पुल जोड्ने सडक कताबाट निर्माण हुन्छ भन्ने विषयमा आफूहरूलाई कसैले जानकारी नदिएको बताए । 

मोटरेबल पुलबाट तीन सय मिटर दूरीमा पूर्वमन्त्री बस्नेतको खेत छ । बस्नेतले मन्त्री भएका बेला आवश्यकता पहिचान नगरी आफ्नो खेत नजिक पारेर सडक विस्तार गर्न पुलमा बजेट छुट्याएको स्थानीयको आरोप छ । भौतिक पूर्वाधार कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले जरेवर-नारेश्वर-गोरखा बजार सडक खण्डअन्तर्गत दरौंदीमाथि पुल निर्माण गरिएको बताए । उनका अनुसार निर्माण कम्पनी एचटीसी, गणेशकुण्ड, आईएस निर्माण सेवाले जोइन्ट भेन्चरमा २०७७ जेठ २ मा सम्झौता गरेर पुलको काम थालेको थियो । 

सम्झौताअनुसार म्याद गत जेठमै सकिएको छ तर म्याद थपपछि आगामी पुससम्ममा पुल निर्माण सक्ने लक्ष्य राखिएको छ । यसको लागत अनुमान ५ करोड ३९ लाख रुपैयाँ छ । अहिले पुलको ९२ प्रतिशत वित्तीय र ९३ प्रतिशत भौतिक प्रगति रहेको ढुंगानाले बताए । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा वैकल्पिक बाटाका रूपमा जरेवर फाँटबाट सवारी सञ्चालन गरिएको थियो । सोही सडकसँग पुल जोड्ने योजना पनि भौतिक पूर्वाधार कार्यालयको छ । तर उक्त सडकमा ठूला सवारी सञ्चालन भने तत्काल हुन नसक्ने उनले बताए ।

कान्तिपुरबाट

Logo