रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सांसद पद खारेज गर्न माग

रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, सांसद पद खारेज गर्न माग


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा  सर्वोच्च अदालतमा दर्ता भएको छ । 

सभापति लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका युवराज पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन् । रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरिएको छ । 

‘विपक्षी रवि लामिछानेले सर्वोच्च अदालतको मिति २०७९/१०/१३ गतेको आदेशले कायम नरहेको भनि घोषित नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएका हुँदा कायम नभएको नागरिकताको प्रतिलिपि वैध हुन् र नेपाली नागरिकता कायम हुन् वा पुनः प्राप्त भएको मान्न सकिँदैन,' रिटमा माग गरिएको छ, 'नेपालको संविधानको धारा ८७(१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१(ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२(क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’ रिटमा भनिएको छ । 

रिटमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई रिट निवेदनमा विपक्षी बनाइएको छ । 

यसअघि सफलले दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि बुधबार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।

Logo