गृहमन्त्री लामिछाने र कांग्रेसबीचको लफडा रोचक मोडमा, जसपा फुटबारे बोले प्रचण्ड[भिडियाेसहित]

गृहमन्त्री लामिछाने र कांग्रेसबीचको लफडा रोचक मोडमा, जसपा फुटबारे बोले प्रचण्ड[भिडियाेसहित]

केन्द्रबिन्दु
84
Shares

प्रतिनिधिसभाको बैठक निष्कर्षविहीन
प्रतिनिधिसभामा भएको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने टसमस नभएपछि निष्कर्षविहीन बनेको छ । सरकारले सदनको बजेट अधिवेशन वैशाख २८ गतेबाट बोलाएको छ । तर, कांग्रेस गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडानमै रहँदा सहमतिको कुनै मिलनविन्दु नभेटिएको हो । यता एमालेले सहकारी पीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएको टिप्पणी गरेको छ ।

गृहमन्त्री लामिछाने आफूविरुद्ध संसदीय छानबिन समिति बनाउन तयार छैनन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध कुनै उजुरीसमेत नपरेको संसदीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् । कांग्रेसलाई लक्षित गर्दै गृहमन्त्रीसमेत रहेका उनले अदालतले भ्रष्टाचार गरेको प्रमाणित भएका व्यक्ति सदनमा ल्याउने पार्टीले आफूविरुद्ध प्रश्न उठाएको टिप्पणी पनि गरे । ‘सदनबाट मैले आफ्नो कुरा राख्न पाउनुपर्छ । सदनमा आफ्ना कुरा राखिसकेपछि चित्त बुझेन भने संसदीय समितिमा बोलाउनुपर्यो । एकैपटक मान्छेलाई थुन्न खोज्ने, केही गर्न नदिने ?सफाइको मौका त फाँसीमा झुण्ड्याउन लागेको मान्छेले पनि पाउँछ होला नि ?’उनको प्रश्न छ ।

जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई नै साथ दिने
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि वर्तमान सरकारलाई नै साथ दिने भएका छन्। यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर निर्वाचन आयोगले आधिकारिकता दिए लगत्तै बसेको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो। यस्तै, यादव नेतृत्वको जसपा नेपालले पनि प्रचण्ड नेतृत्वको सरकारलाई नै साथ दिने भएको छ ।

जसपा विभाजन हुनुमा आफ्नो कुनै भूमिका नरहेको प्रधानमन्त्रीले प्रष्ट पारे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन हुनुमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन् । सदनको गतिरोध हटाउनमा सिंहदरबारस्थित सभामुखको कार्यकक्ष बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा विभाजनबारे उनले भने, ‘आरोप त, अब अरू कसलाई देख्छन् र मान्छेहरूले प्रचण्डबाहेक नेपालमा।’ अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेलामा अशोक राई नेतृत्वमा जसपा नेपालबाट विभाजित भएर जसपा गठन भएको छ। राईलाई ७ सांसदले साथ दिएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरूद्ध सर्वोच्चमा रिट दायर
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरूद्ध नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले ३० सांसदको समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले घोषणा गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । यस अगाडिपनि पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्ति खारेजका लागि रिट दायर गरेका थिए ।

विद्युतीय चुरोटमा प्रतिबन्ध
स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको छ ।

होटेल भियनामा छापा
सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा हुण्डी कारोबार भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ । हुण्डी रकमसहित तीन व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने आधिकारिकरुपमा केही पनि सार्वजनिक गरेको छैन ।

टियूको पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । पोखरेल करिब १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागको प्रमुख थिए ।

सुनको अवैध पैठारी नियन्त्रण गर्न जाँचबुझ आयोग गठन
सुनको अवैध पैठारी(तस्करी)नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठन गरिएको समितिले आफ्नो राय दिएको छ । जस अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतहरूलाई प्रहरी नियमावली–२०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन–२०४९ अनुसार कारबाही गर्न भनिएको छ ।

मंगलबार दुई दशमलव शून्य छ अङ्कले बढ्यो शेयर बजार
शेयर बजार परिसूचक नेप्से मंगलबार दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ । सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । मंगलबार तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको आठ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

गाजामा चलिरहेको द्वन्द्वमा हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार
गाजामा चलिरहेको द्वन्द्वमा हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । भरपर्दो स्रोतबाट सिएनएनले प्राप्त गरेको दस्तावेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको छ । दस्तावेजअनुसार सम्झौता तीन चरणमा लागु हुनेछ र प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ । पहिलो चरणको छ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

दशरथ रङ्गशालाको स्तर सुधार गर्न गरिएको छलफल निष्कर्षविहीन
फिफा र एएफसीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको पहलमा मङ्गलवार सम्बद्ध निकायहरूबिच भएको छलफल निष्कर्षविहीन बनेको छ । मन्त्री श्रेष्ठले छलफलका लागि राखेपका सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीलाई छलफलका लागि मन्त्रालय बोलाएका थिए । तर, घिसिङ आएनन् । त्यसपछि बसेको बैठक निष्कर्षविहीन बन्न पुगेको हो । यसरी दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने जोखिम बढेको छ ।

Skip This
Logo