भारतीय बजारबाट बिजुली खरिद गर्दै, विद्युत उत्पादन क्षमताभन्दा माग दोब्बर

भारतीय बजारबाट बिजुली खरिद गर्दै, विद्युत उत्पादन क्षमताभन्दा माग दोब्बर

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणले बिजुलीको माग अहिलेसम्मकै उच्च भएको बताएको छ।  

पिक आवरमा हालसम्मकै उच्च दैनिक १ हजार ९ सय ५० देखि दुई हजार मेगावाटसम्म बिजुलीको माग रहेको प्राधिकरणले बताएको छ । नेपालको विद्युत उत्पादन क्षमता भने यो सुख्खा सिजनामा एक हजार मेगावाट हाराहारी मात्र छ। सिजन सुख्खा भएको तथा गर्मी बढेपछि सहर र तराई क्षेत्रमा बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ।  

यही जेठ १३ गते भने वर्षाका कारण बिजुली उत्पादन बढेपछि नेपालले भारतलाई बिजुली बिक्री गरेको थियो। उक्त दिन ६ सय मेगावाट आवर (२५ मेगावाट) बिजुली भारत बिक्री गरिएको थियो। तर फेरि वर्षा नहुँदा प्राधिकरणले अपुग बिजुली भारतीय बजारबाट खरिद गरिरहेको छ। अहिलेको समयमा पिक आवरमा ९ सयदेखि एक हजार मेगावाटसम्म बिजुली अपुग छ।   

हाल नेपालमा बिजुलीको कुल जडित क्षमता २ हजार ६ सय ६६ मेगावाट छ। आर्थिक सर्वेक्षण २०७९–८० अनुसार नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। जसमा जलविद्युतबाट २ हजार ४ सय ४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.४, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट छ।  त्यस्तै, चिनी मिलबाट सह उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ।  

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ६ सय ६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत् ४ सय ७८ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १ हजार ५ सय २७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ।  वर्षायाममा बिजुली खेर जाने समस्या भए पनि हिउँदमा भने हामी आफैँलाई बिजुली अपुग हुने समस्या छ।  हिउँदको समस्या समाधानका लागि सरकारले जलाशययुक्त जलविद्युत आयोजना विकासलाई तीव्रता दिने नीति अघि सारेको छ।  

सरकारले आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाबाट ८ सय ११ मेगावाट थप जलविद्युत उत्पादन हुने अनुमान गरेको छ। आर्थिक सर्वेक्षणमार्फत २०७९–८० ले यस्तो अनुमान गरिएको हो।  त्यस्तै, आगामी आर्थिक वर्ष २०८०–८१ मा ३६ आयोजनाबाट थप ७ सय ५४ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ।
 

Logo