नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ मध्ये चार अभियुक्त पक्षको थुनछेक बहस आज हुनेछ।
जिल्ला अदालत काठमाडौँका अनुसार केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्माको पक्षबाट आज बहस हुनेछ। बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता बिनोद शर्मा लगायतका अधिवक्ता सहभागि हुनेछन्। अदालतका अनुसार उनीहरुविरुद्धको बहस आजै सकिने छ। बिहीबार भने अन्य प्रतिवादी पक्षको बहस हुनेछ।
बहस गत २१ जेठदेखि जिल्ला न्यालधिस प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ। जाहेरीकर्ता पक्षको बहस मंगलवार नै पुरा भएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन्।
त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन्। अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन्। टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन्। त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन्।
पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन्। उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दैछन्। टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन्। रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन्। त्यस्तै, डा. इन्द्रजीत राईले बहसका निम्ति बरिष्ठ अधिवक्ता बालकृष्ण ढकाललाई नियुक्त गरेका छन्।































प्रतिक्रिया