एक आर्थिक वर्षमा तीन कार्यालय प्रमुख फेरिए,अन्त्यमा कोही नहुँदा विजोग

एक आर्थिक वर्षमा तीन कार्यालय प्रमुख फेरिए,अन्त्यमा कोही नहुँदा विजोग

केन्द्रबिन्दु
0
Shares

एक आर्थिक वर्षमा तीनवटा कार्यालय प्रमुख परिवर्तन भए तर एक जना पनि कार्यालयमा उपस्थित नहुँदा मुगुको कृषि कार्यालय सुनसान छ । 

आर्थिक वर्षको अन्त्य तिर योजनाको भुक्तानी दिने, आयोजनाको अनुगमन गर्ने  र कृषकहरुलाई ज्ञान मुलक तालिमहरुमा व्यस्त हुनु पर्ने मुगु जिल्लाको  जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख नै लामो समयदेखि अनुपस्थित छन् । जसकाे कारण कार्यालयको कामकाज ठप्प छ भने आयोजना सम्पन्न भएका उपभोक्ता समिति र सेवा लिने सेवाग्राहीहरु मारमा परेका छन् । 

जिल्ला कृषि विकास कार्यालय मुगुबाट सञ्चालन हुने साना सिंचाई आयोजना ९४ वटा छन भने जस्मा ७६ वटा आयोजनाको सम्झौता सम्पन्न भएका छन । अन्य १८ साना सिंचाई आयोजनाको सम्झौता नहुँदा थप समस्या उत्पन्न भएको छ । साना सिंचाई आयोजना अन्तर्गत स्याउ अनुदान , वृक्षरोपण , ओखर , केरा , कागती , बिउ बैंक लगायतका कामहरु भएका छन । 

कृषि विकास कार्यालयबाट आर्थिक बर्ष २०७९।०८०को कोलगड कागती खेती साना सिंचाई आयोजनाको सम्झौता गरी काम सम्पन्न भएपनि भुक्तानी लिनको लागि  गाँउबाट २ दिन पैदल हिडेर आएकाहरुले अझै कति दिन कुर्नु पर्ने हो टुंगो छैन् । कार्यालय प्रमुख नहँुदा भुक्तानीमा निकै समस्या भएको उपभोक्ता समितिका पदाधिकारीहरुको गुनासो छ ।

खत्याड गाँउपालिका वडा नम्बर ११का कोलगड कागती खेती सिंचाई आयोजनाका अध्क्षय अज बहादुर शाहीले भुक्तानी लिनका लागि आउँदा होटलमा खान बस्न समस्या भएको बताए । कार्यालय प्रमुख नहुँदा धेरै कृषकहरुले सेवा लिन निकै दुःख खेपी रहेको छाँयानाथ रारा नगरपालिका १ की कृषक इन्दिरा मल्लको गुनासो छ ।
आ.व २०७९।०८० मा कार्यरत कार्यालय प्रमुख खेमराज शाही सरुवा भएर गएको, तिलकप्रसाद पाण्डे ४३ दिन मात्र जिल्लामा बसेर सरुवा भई गएको र गत फागुन १७ गते कार्यालय प्रमुख भएर आएका रामबहादुर थापा  जेठ ७ गते प्रदेश कृषि विकास कार्यालयमा तालिममा गएको बखत उत्ता उत्तै बढुवा भएर गएपछि अहिले कार्यालय प्रमुख नहुँदा  आर्थिक बर्षको अन्त्यमा सेवाग्राहीले निकै समस्या भोग्नु परेको छ । 

प्रमुख नहुँदा समस्यामाथि समस्या भएपछि कर्णाली प्रदेश सरकारलाई छिटो भन्दा छिटो कार्यालय प्रमुखको व्यवस्था गर्न लिखित पत्राचारका साथै तथा मौखिक आग्रह पनि गरिएको निमित्त कार्यालय प्रमुख टेकबहादुर खत्रीले बताए ।

Logo