लमजुङको राइनास नगरपालिकाले पर्यटन प्रवर्द्धनका साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरेको छ। राइनास नगरपालिकाको वाड ९ र १० को गौरबको योजना अन्तर्गत स्थानीयको जिबनस्तरलाई उकास्न पर्यटक लक्षित साइकल ट्रेलको निर्माण गरेको हो।
वडा नं. ९ र १० लाई जोड्ने गरी निमार्ण गरिएको साइकल ट्रेल तथा पदमार्गको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका निम्ती आकर्षण थप्दै साइकल यात्रा सहित नगर प्रमुख खड्ग बहादुर गुरुङले उक्त साइकल ट्रेलको उद्घाटन गरेका हुन्।
साइकल ट्रेल औपचारिक उद्घाटनका अवसरमा लमजुङ र अन्यत्र जिल्लाका गरी २१ जनाले साईकल यात्रा गरेका थिए। साइकल यात्रीहरुले राईनास वडा नं.१० को प्यारजुंग भन्ज्याङदेखि जोगिगुफा,साल्मेकोट लामागाउँ,गोरखनाथ मन्दिर,कोकेगाउ, घुरसापे,दरबारगढी,पात्लेपानी,राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्ति थापा पार्क मोहोरियाकोट सम्म साइकल यात्रा गरेका थिए।
राइनासको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने लक्ष्यसहित नगरपालिकाले भक्तिपार्क देखि प्यारजुङ भञ्ज्याङ सम्म साइकल ट्रेल तथा पदमार्ग निर्माण गरेको हो। उक्त ट्रेल तथा पदमार्ग निर्माणलाई चालु आर्थिक वर्षको गौरवको योजनाको रुपमा लिइएको छ ।
राइनास नगरपालिका वडा नं. ९ को १० लाख र वडा नं १० को ६ लाख गरि १६ लाख रुपैयाको लागतमा ट्रेल तथा पदमार्ग निर्माण भएको हो। साइकल ट्रेल र पदमार्ग निमार्णमा स्थानियको १० प्रतिशत जनश्रमदान रहेको छ।
सो क्षेत्रका धार्मीक, पर्यटकीय तथा ऐतिहासीक स्थलहरुको प्रवर्दन तथा संरक्षणका निम्ति ट्रेल तथा पदमार्ग निर्माण गरिएको राईनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए। साइकल ट्रेल र पदमार्ग निमार्ण समितिका अध्यक्ष धुव्र गुरुङले लमजुङमा पर्यटन प्रवर्द्धनमा नयाँ कामको थालनी भएको भन्दै यसले राइनासको मात्र नभई सिंगो लमजुङको पर्यटनमा प्रवर्द्धन हुने बताए।
राइनास ९ को भक्ती थापा पार्क देखि, राइनासकोट,हुँदै वडा नं १० को पात्लेपानी ऐतिहासीक दरबार,कोकोगाउँको गोरखनाथ मन्दिर,लामा गाउँको साल्मेकोट जोगी गुफा, क्याभ्रे भञ्ज्याङ हुँदै प्यारजुङ भञ्ज्याङ सम्म करिव ६ किलोमिटर साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको नगरपालिकाले जनाएको छ।





























प्रतिक्रिया