राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आज तोकिएको छ ।
सो रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको हो । यसअघि २६ जेठमा न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै प्रतिलिपि झिकाउन आदेश दिएको थियो । साथै जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय पनि झिकाउन आदेश दिइएको थियो।
राष्ट्रपति पौडेलले यही १७ जेठमा सरकारको आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । अघिल्लो संसदले दुई पटक पारित गरेर पठाएको उक्त विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । तर, उनी शीतल निवासबाट विदा हुने वित्तिकै नयाँ राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका थिए ।
त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ता गराएका थिए । रिटमा अघिल्लो संसद्बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ।































प्रतिक्रिया