दोहोरो नागरिकता प्रयोग गर्न पाउनुपर्ने वंशज नागरिक संघको माग

दोहोरो नागरिकता प्रयोग गर्न पाउनुपर्ने वंशज नागरिक संघको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली वंशज नागरिक संघले गैर आवासीय नेपालीले दोहोरो नागरिकता प्रयोग गर्न पाउनु पर्ने माग गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले नेपाल नागरिकता ऐन, २०६३ मा गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएको संशोधनप्रति आपत्ति जनाएको छ । नागरिकता ऐन–२०६३ को संशोधनले पहिला प्राप्त भएको नेपाली नागरिकताको निरन्तरता नदिएको र गैर आवासीय नागरिकता लिनुपर्ने व्यवस्था गरेकोप्रति संघको आपत्ति छ । 

नेपाली वंशज नागरिक संघले वंंशजको नागरिकताबाट विमुख गर्ने र नागरिकको अधिकारबाट बञ्चित गर्ने गरि भएको उक्त संशोधनप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएको छ । नेपाली वंशजका नागरिकता वाहकले राजनीतिक अधिकारसहित सबै प्रकारको अधिकार प्रयोग गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले नेपालको संविधान २०७२ र नागरिकता ऐन २०६३ ले देशमा धेरै समस्या ल्याएको आरोप लगाए । उनले भने ‘यो २०७२ सालको संविधानले थप एउटा समस्या ल्याइदियो, नेपाली वंशजका जो मानिसहरु थिए, ती मानिस विदेशमा कुनै कारणले गए । विदेशमा बस्नका लागि नागरिकता लगायत स्थायी अनुमति पत्र लिएभने अहिलेको नागरिकता ऐन २०६३ को दफा १० ले तिनीहरुको नागरिकता रद्द गर्ने व्यवस्था गर्यो ।’ 

गैरआवासीय नेपाली राजेन्द्र भट्टले हजारौं पुर्खा यो देशमा रहेपनि आफूलाई नेपालको कानूनले गैरनेपाली बनाएको दुखेसो गरे । वंशजको नागरिकता खोस्ने राज्यको कुनै अधिकार रहेको बताएका उनले नेपाल बाहिर दोहोरो नागरिकता लिएर बस्नेको संख्या  १२ लाख ६९ हजार नागरिक रहेको दाबी गरे । उनले भने, ‘बाहिरको देशको नागरिकता लिएर बसेका १२ लाख ६९ हजार नेपाली हुनुहुन्छ । यही नेपालका मूलवासीहरु । न उनीहरु अंगिकृत हुन, न छिमेकी मुलुकबाट आयतित हुन् । उनीहरुका हजारौं पुर्खा यहीँ जन्मे, हुर्के । तिनको सन्तान हुन उनीहरु । आज उनीहरुलाई अब कहिले पनि यो नेपालसँग सम्बन्ध नराख्ने कानुन बनाइयो ।’

नेपाली मूलका रैथानेहरुको जनसंख्या कम होस् र आयतितले देश भरेर भोलि चाहेजस्तो राजनीतिक, आर्थिक शासन गर्न सकियोस् भनेर नेताहरुले यस्तो व्यवस्था ल्याएको उनको आरोप छ । उक्त कार्यमा गैरआवसीय नेपाली संघ (एनआरएन) का नेताहरु पनि संलग्नता रहेको उनले बताए ।

उनले नेपालको नेताहरुसँग र छिमेकीको स्वार्थसँग मिलेर दुई पैसा कमाउन र दुई चारवटा दलाली गर्नका लागि एनआरएनले वंशजको नागरिकता बेचिदिएको आरोप लगाए । राज्यले आफ्ना देशका वंशज नागरिकलाई कहिले पनि देशसँग सम्बन्ध टुटाउने काम गर्न नहुने उनले बताए ।

नेपाली वंशज नागरिक संघका अन्तराष्ट्रिय संयोजक योगेन्द्र बहादुर क्षेत्रीले नै नागरिकताको निरन्तरताले नै समृद्ध नेपाल निर्माण हुने बताए । सबै वंशजका नेपालीहरुले जहाँ बसेपनि नागरिकताको निरन्तरता पाउनु पर्ने उनको माग छ । विदेशमा रहेका एनआरएन र उनीहरुका छोराछोरीको सीप, शिक्षा र धनको उचित प्रयोग गरेमात्रै चाँडै नेपाल सम्पन्न हुने उनको बुझाई छ ।

‘एनआरएनका छोराछोरी जो–जो विदेशमा बस्नुभएको छ, जो–जो विदेशमा बसेर पढ्नुभएको छ, उनको सीप, एजुकेशन र धन नलिँदासम्म नेपालको समृद्धि फुलिस्टप । हामी त्यो चाहँदैनौं । हामीलाई हाम्रो लागि सोच्नुपर्ने छैन,’– उनले भने ।

विदेशमा रहेका नेपाली वंशज नागरिकहरुले दुःख सुख गरेर आफ्नो लागि राम्रै गरिरहेको बताउँदै उनले देशमै बस्ने नपालीहरुमा रहेको गरिबी अन्त्य र समृद्ध नेपाल निर्माणका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

वंशजको नागरिक मिलेर यो देशलाई समृघद्ध बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए । राज्यले यही माटोमा भिड्नुपर्छ र पसिना बगाउनुपर्छ भन्ने नीति नै नलिएको उनको अरोप छ । कार्यक्रमको सञ्चालन कपिलदेव ढकालले गरेका थिए ।

Logo