ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिनानिष्कर्ष सकिएको छ।
सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक निष्कर्षविहीन भएको हो ।
नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठकमा ल्याण्डफिल्ड साइटका स्थानीयलाई परेको असरबारे गम्भीर छलफल भएको तर ठोस निर्णय नभएको ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरोकारवाला र सरकारबीच भएको छलफल बिनानिष्कर्ष सकिएको भन्दै काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले थप छलफल गर्ने गरी आजको बैठक सकिएको बताए । उनले भने, ‘माटो क्यापिङ र झिंगा नियन्त्रणका लागि तत्काल काम सुर्ने विषयमा सहमति जुटेको छ ।’
तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले फोहोर बोकेका गाडी रोकिरहेका छन्।
छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगा फैलिएकाले बस्न अप्ठ्यारो भएको भन्दै स्थानीयले तत्काल झिंगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएको भन्दै आपत्ति जनाएका थिए । प्रभावित क्षेत्र किटान गर्न भोलि नै प्राविधिक टोली फिल्डमा जाने सहमति भएको ककनी गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष घननाथ बजगाईले बताए । तर पूर्णरुपमा समस्या समाधान नभएसम्म फोहोर लैजान नदिने उनको भनाई छ ।





























प्रतिक्रिया