साहुको फन्दामा फसेका मजदुर लालबहादुर विश्वकर्माले उच्च अदालत विराटनगरबाट सफाइ पाएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका -२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले पूर्ण सफाइ दिएको हो ।
अरु अभियुक्तको हकमा कैद र जरिवाना जिल्लाकै सदर भएको छ।
लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । उक्त फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो।
गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसाईपछि नेपाल आएरदीपक गजमेरको परिवारले सञ्चालन गर्ने सिंहदेवी ज्वेलर्समा काम गर्न थाले । दीपकका परिवारसहित लालबहादुरविरुद्ध करोडौँ ठगीको आरोपमा २०७५ जेठ २० गते इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी पर्यो।
लालबहादुरले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे। उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए। तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन्। आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे। पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गरेकाे थियाे । सोही क्रममा लालबहादुर पनि पक्राउ परेका थिए ।
३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरको हकमा त्यतिबेला थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नभएकाे भन्दै असार २६ गते २ लाख नगद धरौटी दाखिला गरी तारिखमा रिहा गरेकाे थियाे । तर, एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो। जसले उनको सातो उडायो । अदालतले उनलाई दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनाएकाे थियाे । जाहेरवाला २७५ जनालाई १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ दामासाही भराइ दिने अदालतको फैसलामा उनकाे भागमा त्याे रकम परेकाे थियाे । त्यसपछि उनी थुनामै रहेका थिए ।





























प्रतिक्रिया