काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने तयारी

काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगनपालिकाले बर्खायाममा खुल्लारूपमा बेचिने पानीपुरी, चटपटेलगायत बिक्रीवितरणमा रोक लगाउने तयारी गरेको छ । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन महानगरले यस्तो कदम चाल्न लागेको हो । 

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले खुल्लारूपमा बेचिने चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई बिक्री प्रतिबन्ध गर्नुपर्ने बताएकी हुन् । साथै उनले बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत निर्देशन दिइन् । 

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन् ।’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ ।’  

उनले थपे, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

त्यस्तै, बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ । यसविपरीतका जार जफत र नष्ट गरिएको हो ।’ उनका अनुसार काठमाडौँमा १५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । 

व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने बैठकले खाँचो देखाएको छ । 

Logo