क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो। यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन्।
उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला-२६) घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए।
त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्म दर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो।
तर यसबीचमा अदालतमा फरक-फरक जन्म मिति भएका कागजहरू आइपुगेका थिए। वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्म दर्ता गर्दाको जन्म मिति १८ असार २०६१ भएको विवरण पठाएको थियो।
तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्म दर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो।
न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोग पत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्म मिति १८ जेठ २०६२ नै उल्लेख छ।





























प्रतिक्रिया