रिगल आममाफी प्रकरणः राष्ट्रपतिमाथि पीडितको प्रश्नैप्रश्न, भोलिदेखि रिले अनशन [भिडियाेसहित]

रिगल आममाफी प्रकरणः राष्ट्रपतिमाथि पीडितको प्रश्नैप्रश्न, भोलिदेखि रिले अनशन [भिडियाेसहित]


चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ । 

उक्त घटनामा मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् । 

उनले ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको भन्दै चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताइन् । 

आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । ‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ’ उनले भनिन्, ‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’

चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहार्याइदिएको उनको आरोप छ । 

उनले भनिन्, ‘जो मान्छेले मेरो जीवनतहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले म पहिला पीडामा थिएँ, फेरि दोहोर्याइ दिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ ।’ आफूले लामो कानूनी लडाईँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिबिना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताइन् । 

उनले भनिन्, ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ? राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो ।’

हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफू पनि मार्नका लागि तयार रहेको उनको भनाई छ । 

आममाफीका विषयमा यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् । उनले भनिन्, ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ? मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आजमलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार गर्नुहुन्थ्यो होला त ?’ 

पत्रकार सम्मेलनमा पत्रकार तथा समाजसेवी आशिष मल्ल ठकुरीले आममाफीको विरुद्धमा भोलिदेखि सुरु हुने रिले अनशनमा समर्थन जनाउनका लागि नागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी र पत्रकारहरुलाई आग्रह गरे । 

उनले आफूले गोली खान परे पनि अन्याय र अत्याचारको विरुद्धमा लडिरहने प्रतिवद्धता गर्दै आफू भारती मानन्धरले न्याय पाउनुपर्छ भन्ने पक्षमा रहेको बताए  । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । 

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । 

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

भिडियाेका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo