उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’को नेतृत्व गरिरहेको छ ।
पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा लिनुपर्ने बताएका छन् । उनले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए ।
“पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छ”, उपप्रधानमन्त्री खड्काले भने, “यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।”
उनले जनता देशका मालिक र जनप्रतिनिधि तथा कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्याउने बताए । उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सेवा प्रवाह पनि सोहीअनुसार सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिए । “देशको सार्वभौमिकता राजा हुँदा राजसंस्थामा निहित थियो”, उनले भने, “विसं २०७२ को संविधानले नेपाली जनताको हातमा सार्वभौमसत्ता सुम्पेको छ ।”
सार्वभौमसत्ता सम्पन्न जनता हेपिनुपर्ने, अन्यायमा पर्नुपर्ने परम्परागत शासकीय स्वरुपलाई रुपान्तरण गर्नका लागि प्रहरीले सुरु गरेको सेवा महत्वपूर्ण भएको बताए ।
अभियान सञ्चालन गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै यसलाई सफल कार्यान्वयन गर्नुपर्ने उनको जोड थियो । “अभियानले बोकेको भावना, पीडितलाई पुर्याउने सहयोग प्रत्येक तहको प्रहरी कर्मचारीबीच कार्यक्रमको अपनत्व जोडिएन भने यो अहिलेको घोषणा केही महिनापछि खिसिट्युरी बन्न सक्छ”, उनले भने, “यसतर्फ ध्यान दिन आवश्यक छ ।”
यस्तै, ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्दैै उपप्रधानमन्त्री खड्काले ट्राफिक नियम र सडक सभ्यताबीच सबैले पालना गर्नुपर्ने बताए । उनले ट्राफिक नियमको पालना गर्नाले मेरो जीवनको रक्षा हुन्छ भन्ने कुराको बोध प्रत्येक नागरिकमा हुनु आवश्यक रहेको बताए । “भौगोलिक रुपमा विकट प्रदेश भएकाले यहाँ सवारी दुर्घटना पनि धेरै भइरहेको तथ्याङ्कले देखाएको छ”, उनले भने, “ट्राफिक नियम र सडक सभ्यताको जानकारी र पालना गर्न सक्यौं भने दुर्घटना न्यूनिकरणमा ठूलो भूमिका खेल्छ ।”





























प्रतिक्रिया