रिगलकाे आममाफी प्रकरणः १४ कात्तिकलाई सर्‍यो मुद्दाको सुनुवाइ

रिगलकाे आममाफी प्रकरणः १४ कात्तिकलाई सर्‍यो मुद्दाको सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ सरेको छ । 

बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको रहेको पूर्ण इजलासमा बहस सुरु गरे पनि फैसला नआएको हो । मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ । 

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।

तर, नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । त्यसपछि चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो । 

Logo